मनहरीमा निर्माण गरिएको क्वारेन्टाईनको अवलोकन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल ।

हेटौंडाः कोरोना भाइरस संक्रमण विरुद्ध जिल्लाका पालिकाहरुले गरिरहेको कामका बारेमा बुझ्ने क्रममा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले मंगलबार मनहरी गाउँपालिकाको अवलोकन गर्नुभएको छ । कोराना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा विपन्न परिवारलाई राहत वितरण सम्बन्धमा गाउँपालिकाले गरेका कामका विषयमा जानकारी लिने उद्देश्यका साथ प्रमुख खुलालले अनुगमन गर्नुभएको हो ।
अनुगमनका क्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती तथा स्वास्थ्यकर्मी समेतले गाउँपालिकामा अहिलेको अवस्था एवम् भएका कामका बारेमा प्रमुख खुलाललाई जानकारी गराउनुभएको थियो । गाउँपालिका अध्यक्ष उप्रेतीले उपलब्ध साधन स्रोतको अधिकतम् प्रयोग गरेर सचेतनाका कामहरु भएको, १२ बेडको क्वारेन्टाईन तयारी अवस्थामा रहेको तर कोहि पनि अहिलेसम्म क्वारेन्टाईमा राख्ने अवस्थाका नभेटिएको, २ स्थानमा फिभर क्लिनिक संचालनमा ल्याएको, १५ जना स्वास्थ्यकर्मीलाई सम्पुर्ण व्यवस्थापनसहित तयारी खटाईएकोे, स्वास्थ्य संस्थालगायत अन्य सम्भावित क्षेत्रमा किटनाशक औषधि छर्कनेलगायत काम भएको, विपन्न परिवारको लगत संकलन गरेर राहत वितरण समेत भईरहेको, राहत वितरणमा एकद्वार प्रणाली लागु गरिएको, गाउँपालिकाले आफैं पीपीई निर्माण गरेर काम गरिरहेको जानकारी दिनुभयो ।
जिसस प्रमुख खुलालले मनहरी गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि गरेका प्रयास पालिकामा रहेको क्वारेन्टाई, आइसोलेशन वार्ड तथा स्वास्थ्य केन्द्रको समेत अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा प्रमुख खुलालले क्वारेन्टाईन तथा स्वास्थ्य केन्द्रमा खटिएका स्वास्थ्यकर्मीहरुसँग अहिलेको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । उहाँले मनहरी गाउँपालिकाको व्यवस्थापन राम्रो रहेको भन्दै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई आवश्यक सुविधाको व्यवस्थापनमा गाउँपालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । भारत लगायत तेस्रो मुलुक वा पालिका बाहिरबाट आउने व्यक्तिको निगरानी गर्न तथा त्यस्ता व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा नियमित रुपमा जानकारी लिन समेत निर्देशन दिनुभयो ।