हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमबाट बच्न सरकारले आव्हान गरेको लक डाउनका कारण दैनिक गुजारा गर्न गाह्रो भएका उपमहानगरवासीलाई वितरण गर्न हेटौंडा उपमहानगरपालिकाले आवश्यक खाद्यान्न सामग्री खरिद गर्न व्यवसायीसँग आज सम्झौता गरेको छ । उपमहानगरपालिकाले तीन दिनको समय राखेर शिलबन्दी बोलपत्र आव्हान गरेको थियो । खाद्यान्न सामग्री उपलब्ध गराउन ६ वटा प्रस्ताव परेकोमा हेटौंडा–२ स्थित वैद्यनाथ बाबा खाद्यान्न भण्डारले सबैभन्दा कम दरमा प्रस्ताव पेश गरेसँगै उसैसँग उपमहानगरपालिकाले आज सम्झौता गरेको छ ।
वैद्यनाथले एक साताभित्र सम्झौताअनुसारको सामग्री दैनिक रुपमा उपलब्ध गराउनेछ । हेटौंडा उपमहानगरपालिकाले विभिन्न ५ वस्तुको कुल ८० लाख ८२ हजार रुपैयाँ अनुमानित मूल्य राखेर दरभाउपत्र आव्हान गरेकोमा ६ वटा प्रस्ताव मध्ये वैद्यनाथ बाबाले सबैभन्दा कम ७८ लाख ६१ हजार २ सय रुपैयाँमा उपलब्ध गराउने प्रस्तावअनुसार सम्झौता भएको हेटौंडा उपमहानगरपालिकाका स्टोर प्रमुख विनोद सुवेदीले जानकारी दिनुभयो । केही दिन अघि मकवानपुर उद्योग वाणिज्य संघले सार्वजनिक गरेको उपभोक्ता मूल्यका आधारमा उपमहानगरपालिकाले खरिद गर्ने वस्तुको अनुमानित मूल्य प्रस्ताव गरेको सुवेदीले बताउनुभयो ।
व्यवसायीले भोलि नै पहिलो चरणको खाद्यान्न सामग्री उपलब्ध गराउने र भोलिबाटै राहत वितरण सुरु गरिने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो । “व्यवसायीले पहिलो लटको सामग्री भोलि नै उपलब्ध गराउनेछ, सोहीअनुसार हामी भोलिदेखि नै राहत वितरणको कार्य सुरु गर्नेछौं,” मेयर महतले भन्नुभयो ।
वैद्यनाथले सोना मन्सुली चामल प्रतिकेजी ४३ रुपैयाँ, मसुरो दाल प्रतिकेजी १ सय १० रुपैयाँ, सूर्य तेल प्रतिलिटर १ सय ५८ रुपैयाँ, नून प्रतिकेजी १९ रुपैयाँ २० पैसा र सावुन प्रतिगोटा २७ रुपैयाँ ५० पैसामा उपलब्ध गराउने प्रस्ताव गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाले राहत वितरणका लागि कार्यविधि नै बनाएको छ । कार्यविधिअनुसार उपमहानगरपालिकाले प्रतिपरिवार १५ केजि चामल, २ केजि दाल, २ लिटर तेल, १ पाकेट नुन र १ नुहाउने साबुन ४ वटा वितरण गर्नेछ । उपमहानगरपालिकाले ९० टन चामल, १२ टन मसुरोको दाल, ६ टन नुन, १२ हजार लिटर सूर्यमुखी तेल र २४ हजार थान साबुन खरिद गर्न आज सम्झौता गरेको छ ।
Home अर्थ/व्यापार राहत वितरण गर्न हेटौंडा उपमहानगरद्वारा खाद्यान्न खरिद सम्झौता सम्पन्न, भोलिबाटै वितरण सुरु...