पछिल्लो एक सातामा मकवानपुर प्रहरीले दिनहुँ लागूऔषधसहित मानिसलाई पक्राउ गरिरहेको छ । विगतदेखि नै लागूपदार्थ उत्पादन, ओसारपसार र सेवनमा अग्र स्थानमा रहेको मकवानपुर जिल्लामा पछिल्लो समय लागूपदार्थको कारोबार झनै मौलाउँदै गएको देखिन्छ । दिनहुँ लागूऔषधसहित पक्राउ पर्नुले हेटौंडा बजार आसपासका क्षेत्रमा लागूऔषध कारोबारीको संख्या उल्लेख्य रहेको तथ्यलाई पुष्टि गर्दछ । हेटौंडा अहिले लागूपदार्थको ‘ट्रान्जिट प्वाइन्ट’ बनिरहेको छ । नेपाल–भारतबीच हुने लागूपदार्थको कारोबारका क्रममा संघीय राजधानी काठमाडौं र आर्थिक राजधानी वीरगञ्जको बीचमा रहेको बागमती प्रदेशको राजधानी हेटौंडा उर्बर बन्दै गइरहेको छ ।

पछिल्लो एक साता हेटौंडाका स्थानीय अखबारमा दिनहुँ लागूपदार्थ बरामदको समाचार सार्वजनिक भएका छन् । सोमबार प्रहरीले लागूपदार्थ खैरो हिरोइनसहित हेटौंडा–१, चौकीटोलबाट २५ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । आइतबार हेटौंडा–१२, नयाँपुलको भित्री बाटोमा बस्ने २७ वर्षीय २ जना पुरुषलाई प्रहरीले चेकजाँच गर्दा लागूऔषध डाइजेपाम, फेनरागन र नुफिन फेला पारेको थियो । आइतबारै हेटौंडा–१६ का ३९ वर्षीय र हेटौंडा–७ का २८ वर्षीय पुरुषलाई खैरो हेराइनसहित प्रहरीले नियन्त्रणमा लिएको छ । गत शुक्रबार हेटौंडा–१९ बाट हेटौंडा–३ बस्ने ४२ वर्षीय पुरुषलाई लागूऔषध गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, बिहीबार प्रहरीले अबैध लागूऔषध गाँजासहित हेटौंडा–१५ बस्ने ५६ वर्षीय र २९ वर्षीय दुई पुरुषलाई पक्राउ गरेका छ । अघिल्लो बुधबार हेटौंडा–११ का १८ र २२ वर्षीय दुई युवालाई लागूऔषध खैरो हेरोइनसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसरी एक हप्ताको अवधिमा हरेक दिन प्रहरीले लागूऔषधसहित त्यसका कारोबार गर्नेलाई नियन्त्रणमा लिनुले हेटौंडामा लागूऔषधको कारोबार फस्टाएको आशंका बढाएको छ । अघिल्लो आइतबार पनि मकवानपुर प्रहरीले हेटौंडा–१२ बस्ने एक युवालाई ठूलो परिमाणमा लागूऔषध ओनेरेक्ससहति प्रक्राउ गरेको थियो । सोही दिन हेटौंडा–२, ४, १२ र १३ का दुई पुरुष र दुई महिलालाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले बरामद गरेको लागूऔषध र पक्राउ गरेका व्यक्तिको तथ्यांक हेर्दा हेटौंडामा सबै प्रकारका लागूऔषध कारोबार भइरहेको पाइएको छ । यस्तै उपमहानगरपालिकाका सबैजसो वडामा लागूऔषध काराबारी रहेको देखिन्छ । अर्कोतिर सबै उमेर समूह र सबै जातजातिका मानिसहरु लागूऔषध ओसारपसार र कारोबारमा संलग्न देखिएका छन् । लागूऔषधसहित पक्राउ पर्नेमा पुरुषको संख्या बढी भए पनि महिलाहरु पनि यसबाट अछुतो रहन सकेका छैनन् ।

प्रहरीले दिनहुँजसो लागूऔषध तस्कर, ओसारपसारमा संलग्न र सेवनकर्तालाई पक्राउ गरे पनि लागूऔषध बेचबिखन र सेवनको समस्या भयावह बन्दै गएको अनुमान गर्न सकिन्छ । प्रहरीले लागूऔषधसहित पक्राउ गरेका अधिकांश व्यक्तिलाई अनुसन्धानपछि कानुनी कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेर सजाय दिलाउने गरेको छ । यसरी धेरै मानिस लागूऔषध कारोबारमा संलग्न भएका कारण सजाय भोग्नुपर्दा पनि कारोबार कम नहुनुलाई गम्भीररुपमा लिनु पर्दछ । प्रहरीले सुराकी वा सूचनाका आधारमा अधिकांश लागूऔषध बरामद र कारोबारीलाई पक्राउ गरिरहेको छ । सुराकीबिना प्रहरीले निकै कममात्र लागूऔषध बरामद गर्ने गरेको देखिन्छ । लागूऔषधको कारोबारमा शक्तिशाली गिरोह र ठूलो सञ्जाल सक्रिय हुनसक्ने भएकाले कारोबारी वा सेवनकर्ताभन्दा पनि गिरोहलाई नै पक्राउ गर्न प्रहरी चनाखो बन्नु आवश्यक छ ।