हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक डा.लोकराज शर्माले विश्व विद्यालय अनुसन्धान आयोगको अनुदानबाट प्राप्त रकमबाट १० प्रतिशत रकम क्याम्पसलाई सहयोग गर्नुभएको छ । आइतबार एक समारोहका बीच उहाँले दश हजार रुपैयाँको चेक क्याम्पस प्रमुख डा.शंकर प्रसाद उपाध्यायलाई हस्तान्तरण गर्नुभएको हो ।
शर्माले विश्व विद्यालय अनुदान आयोग (युजिसी) को अनुसन्धान कार्यक्रम अन्र्तगत हालै एक लाख रुपैयाँ प्राप्त गर्नुभएको छ । शर्माले ‘स्नातक तह शिक्षा शास्त्र संकाय अन्र्तगत अध्ययन गर्ने विद्यार्थीको अंग्रेजी सिकाई धारणा’ विषयमा गर्नुभएको अनुसन्धानका लागि आयोगबाट सो रकम प्राप्त गर्नुभएको हो । क्याम्पसलाई १० प्रतिशत रकम हस्तान्तरण गर्ने सम्झौता अनुसार नै शर्माले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । उक्त अवसरमा क्याम्पस प्रमुख डा.शंकर उपाध्यायले रकम भए पनि शर्माले अनुकरणीय काम गरेको बताउनुभयो । डा.शर्माका अन्तराष्ट्रिय अनुसन्धान जर्नलमा ६० वटा र राष्ट्रिय जर्नलमा १५ वटाभन्दा बढी लेखहरु प्रकाशित भइसकेको छ । उहाँ सानल्याक्स इन्टरनेसनल जर्नलको रिभ्यु बोर्ड मेम्बर पनि हुनुहुन्छ ।
यसैगरी मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख यमबहादुर सिलवालले विश्व विद्यालय अनुसन्धान आयोगले संचालन गरेको यस्तो कार्यक्रममा एक लाख रुपैयाँदेखि ढेड करोड रुपैयाँसम्मको अनुदानका कार्यक्रम रहेको बताउनुभयो । जसअनुसार मकवानपुर बहुमुखी क्याम्पसले पनि अनुसन्धान कार्यक्रमका लागि प्रस्ताव पेश गरेको उहाँले बताउनुभयो । प्राध्यापकहरुलाई उक्त कार्यक्रममा सहभागीको लागि समेत आव्हान गर्ने कार्य भईरहेको सिलवालले जानकारी दिनुभयो ।