हेटौंडाः हेटौंडा–१७ हटिया स्थित प्रस्तावित श्रीजगद्गुरुत्तम चिकित्सालय स्थलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार भएको शिविरमा हार्ड जोर्नी तथा नसा रोग, मृगौला रोग र दन्त रोग सम्वन्धी विशेषज्ञबाट स्वास्थ्य परिक्षण गराईएको थियो । २ सय ५३ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । उक्त शिविरको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले गर्नुभएको हो ।
हेटौंडा मोडल हस्पिटलका हार्डजोर्नी तथा नसारोग विशेषज्ञ डा. बसन्तमान श्रेष्ठ, हेटौंडा हस्पिटल तथा हेटौंडा मोडेल हस्पिटलकी मृगौला रोग विशेषज्ञ डा. दिनेश्वरी श्रेष्ठ, नेपाल डेण्टल केयर तथा एभरेष्ट डेण्टल केयर सेन्टरकी दन्तरोग विशेषज्ञ डा. प्रेरणा अर्याल, टिचिङ्ग हस्पिटल काठमाण्डौका डा. अमित श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स अस्मिता काफ्ले, नर्स अस्मिता पौडेलद्वारा विरामीको स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम विगत २०७५ सालदेखि प्रत्येक महिनाको तेश्रो शनिबार आयोजना हुँदै आईरहेको राधा माधव समिति नेपालका कार्यसमिति सदस्य राजेन्द्र सिग्देलले बताउनुभयो । कोरोना महामारीका कारण निरन्तरता पाउन नसकेको सो शिविर अब निरन्तर सञ्चालन हुने र भविष्यमा सुविधा सम्पन्न अस्पताल निर्माण गरी निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरिने लक्ष्य रहेको सिग्देलले बताउनुभयो । टोल विकास संस्थाको समन्वयमा हेटौंडा उपमहानगरपालिकाले शुरु गरेको सफा हेटौंडा अभियान अन्तर्गतको कार्यक्रमलाई सफल बनाउन प्रमुख लामाद्वारा प्रदान गरिएको विरुवालाई उक्त स्थानमा वृक्षारोपण गरि दुवै कार्यक्रम प्रति आफ्नो ऐक्यबद्धता रहेको प्रमुख लामाले व्यक्त गर्नुभयो ।
कार्यक्रममा हेटौंडा १७का वडाध्यक्ष उद्धव सत्याल, शहरी स्वास्थ्य केन्द्र हटियाकी प्रमुख रेखा गुप्ता, हटिया अस्थायि प्रहरी पोष्टका प्रमुख मिन बहादुर भट्टराई, पुरानो बाँसको धारो खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शिवराज तिमल्सिना, अंगारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष धर्मराज अर्याल, सानो गँगटे टोल विकास संस्थाका अध्यक्ष विवेक सुवेदि, दाविले टोल विकास संस्थाका अध्यक्ष राम न्यौपाने लगायत विभिन्न संस्थाका प्रतिनिधि एवं समाजसेविको उपस्थिति रहेको थियो ।