हेटौंडाः वनस्खण्डी मन्दिर पर्यटन विकास समितिको २२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष राममान श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सभाको उद्घाटन सत्रमा संस्थागत प्रतिवेदन सचिव पवन कार्कीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन समितिका कोषाध्यक्ष राजुराम राउतले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष राममान श्रेष्ठले कोभिडको कारण दुई वर्षको वार्षिक सभा एकै पटक गर्नु परेको बताउनुभयो । उहाँले बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिका कार्यालयबाट व्यवस्थापन भएको बजेट आगामी ६ महिनाभित्र मन्दिरको पूर्वाधार निर्माण सुधार सम्पन्न गरिने बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष महर्जनले वडामा विकास निर्माण र पर्यटकीय सम्भावनाका विभिन्न आयामहरु रहेको बताउँदै त्यसलाई पहिल्याई काम गर्न आफु क्रियाशील रहेको बताउनुभयो । श्रेष्ठले वन समूह र मन्दिर समितिबीच समन्वय तथा सहकार्य गरी कार्य गर्दा उपयुक्त हुने धारण राख्नुभएको थियो । वन समूहको जमिन उपलब्ध हुने भएमा शहरी स्वास्थ केन्द्र र वडा कार्यालयको भवन वनस्खण्डी क्षेत्रमा बनाउन सकिने श्रेष्ठको भनाइ छ ।
सभाको दोश्रो बन्द सत्रमा संस्थागत र आर्थिक प्रतिवेदन अनुमोदन गरिएको थियो । सभामा सहभागीहरुले मन्दिर परिसरमा थप सरसफाई गर्नु पर्ने बताउँदै दुर्व्यसन तथा असामाजिक गतिविधि निरुत्साहन गरी समयमै वार्षिक सभा आयोजना गनुपर्ने लगायतका विषयहरु उठान गरेका थिए । सभामा हेटौंडा–२ का विभिन्न टोल विकास संस्थाका अध्यक्ष, सस्थाका पदाधिकारी, प्रतिनिधिहरु, वनस्खण्डी मन्दिर पर्यटन विकास समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।