अनपेक्षित रुपमा संसारभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै अहिले सरकारले लकडाउनको घोषणा गरेको अवस्था छ । अत्यावश्यक कामबाहेकका अवस्थामा मानिसहरू घरभित्र नै सीमित हुनु परिरहेको छ । व्यस्त दैनिकी बदलिएर साँघुरो घेराभित्र बाँधिएको छ । यस्तो अवस्था पहिलोपटक आएकाले मानिसहरू अन्योलमा देखिन्छन् । यो बेलामा बालबालिकाहरूको समयलाई के–कसरी सदुपयोग गर्ने, गराउने भन्ने चुनौती पनि थपिएको पाइन्छ । कतिपय बालबालिकाहरूले स्मार्ट फोनमा अत्यधिक समय बिताएकोमा त्यसको व्यवस्थापन कसरी गर्ने भनेर अभिभावकहरूलाई चिन्तित बनाइरहेको छ । के गर्ने त यस्तो बेलामा ? बालबालिकाहरूको सर्वपक्षीय हितलाई ध्यान दिने हो भने यस्तो बेलालाई निम्न कुराहरूको लागि अवसरका रुपमा लिन सकिन्छ ।
क) व्यवहारिक कुराहरू सिकाउनेः
बालबालिकालाई व्यस्त राख्न मात्र नभई व्यवहारिक बनाउन पनि विभिन्न खाले घरायसी कामहरू गर्न प्रेरित गर्न सकिन्छ । भान्साका कामहरू जस्तै तरकारी काट्न, केलाउन सिकाउने, विभिन्न खानेकुरा, परिकार के–कसरी बन्दछन् भनी सिकाउने तथा आफैंलाई गर्न लगाउने, भान्साको सरसफाई तथा भाँडाकुँडाहरू माझ्न सिकाउने आदि गर्न सकिन्छ । यसबाहेक घर, कोठाको सरसफाइका साथै लुगाकपडा, सजावटका सामान, आफ्ना किताबकापी आदिलाई मिलाएर राख्नको लागि पनि प्रेरित गर्न सकिन्छ । करेसाबारी, कौसी खेती छ भने त्यहाँका कामहरू सिक्ने र सिकाउने अवसरका रुपमा पनि यो बेलालाई प्रयोग गर्न सकिन्छ । यसबाहेक मान्यजनलाई गर्नुपर्ने व्यवहार, सामाजिक मूल्य मान्यता तथा समसामयिक सामाजिक तथा राजनीतिक मुद्दाहरूका बारेमा समेत बालबालिकालाई जानकार बनाउन सकिन्छ ।
ख) खेल र व्यायामहरूका लागि प्रेरित गर्नेः
बालबालिकाहरू स्वभावैले चञ्चल हुन्छन् । यस्तो चञ्चलतालाई खेल तथा व्यायामका माध्यमबाट व्यक्त गर्नर गराउन सकिएमा बालबालिकाको शारीरिक, मानसिक तथ संवेगात्मक सबै पक्षको विकास हुन पुग्दछ । शरीर सक्रिय भएपछि तनाव बढाउने हर्मोनको उत्पादनमा समेत कमी आएर मानिसमा स्फूर्तिको मात्रा बढ्न सक्दछ । तर पछिल्लो समयमा चाहिँ बालबालिका मात्र नभई ठूलाको पनि खेलप्रतिको लगाव डिजिटल डिभाइसहरूमा साँघुरिँदै गएको पाइन्छ । यसतर्फ परिवारका सबैजना सचेत भई घरभित्रै परिवारका सदस्यहरूबीच चेस, लुडो, म्युजिकल चेयर, ब्याडमिन्टन र ठाउँ भएसम्म भलिबल, फुटबल, टिटी आदि खेलहरू खेल्न सकिन्छ । यसबाहेक हल्का कसरतहरू, योगासनहरू गर्न, गराउनका लागि पनि यो समय महत्वपूर्ण सावित हुन सक्दछ ।
ग) पाठ्यक्रम बाहिरका पुस्तक, पत्रपत्रिकाको अध्ययनमा पनि जोड दिनेः
लामो बिदाका बेलामा पनि कतिपय अभिभावकले आफ्ना बालबालिकाहरूलाई आफ्नो पाठ्यपुस्तकको अध्ययनका लागि मात्र दवाव दिने गरेको पनि पाइन्छ । तर बालबालिकाहरू भने सधैं त्यसका लागि तयार भइरहेका हुँदैनन् । वास्तवमा यसरी दवाव दिनु भनेको उनीहरूमा जबर्जस्ती तनाव सिर्जना गर्नु मात्र हो । यस्तो अवस्थामा पाठ्यपुस्तकको अध्ययनका साथमा उनीहरूको स्तर वा रुचि अनुसारका पुस्तक, पत्रपत्रिकाहरू उपलब्ध गराएर बाहिरी अध्ययनका लागि पनि प्रेरित गर्नु मनासिब हुन जान्छ । कागजी पुस्तकहरू मात्र नभई इन्टरनेटमा इ–बुकहरू र अडियो बुकहरू पनि उपलब्ध हुन्छन् । समेत आफ्नो सुविधा अनुसार यिनीहरूको पनि अध्ययन गर्न सकिन्छ । यसबाट उनीहरूको बौद्धिक विकासमा मात्र सहयोग नभइकन स्क्रीन (स्मार्ट फोन, कम्प्युटर, टिभी आदि) मा बिताउने समय घटाउन पनि सहयोग पुग्दछ ।
घ) स्मार्ट फोन, कम्प्युटर र इन्टरनेटको सही प्रयोगमा केन्द्रित गराउनेः
सूचना प्रविधिका क्षेत्रमा संसार हामीले सोचेभन्दा पनि अगाडि बढिसकेको छ । मानिसले सूचना प्रविधिका माध्यमबाट अनेकौं किसिमका फाइदाहरू लिन सक्ने अवस्था पनि आइसकेको छ । यति हुँदाहुँदै पनि धेरैजसो अभिभावकहरूको के गुनासो देखिन्छ भने सूचना प्रविधिका यस्ता आधुनिक साधनहरूका कारण आफ्ना बालबालिकाको दैनिकी, आनीबानी र पढाइमै गम्भीर असर परिरहेको छ । अझ यो लामो बिदामा यस्तो खालको बानीले नसाकै रुप लिन पनि बेर लगाउँदैन । के यस्ता कुराबाट उनीहरूलाई जतिसक्दो टाढा राख्ने कोसिस गर्ने हो त ? अवश्यै होइन । सूचना प्रविधिबाट टाढा बनाउनु भनेको उनीहरूलाई पछाडि पार्नु नै हो । यस्तो बेला के गर्ने त आफ्ना बालबालिकाहरूलाई ? अवश्य पनि प्रश्न गम्भीर छ । वास्तवमा हामीले बुझ्नु के जरुरी छ भने सूचना प्रविधिका आधुनिक साधनहरू खराब होइनन् तर त्यसको प्रयोग सही किसिमले नहुनु चाहिँ ठूलो चुनौती हो । चक्कुलाई आवश्यक चीज भन्ने कि अनावश्यक भन्ने भनेको जस्तै हो । यसका लागि सर्वप्रथम उनीहरूलाई स्मार्ट फोन, कम्प्युटर र इन्टरनेटबाट अनेकौं फलदायी कुरातर्फ मोडेर स्क्रीनको नसाको सट्टा स्क्रीनबाट फाइदातर्फ मोड्न सकिन्छ । उनीहरूको पढाइ, स्तर र रूचिका कुराहरू इन्टरनेटमा खोज्न सिकाउनु, त्यसको प्रयोग गरी कुनै नयाँ ज्ञान, सीपको विकास गर्न प्रेरित गर्नु तथा सही र गलत के हो भन्ने समेत जानकारी दिन सक्नु नै यसको सही प्रयोग हो ।
ङ) रचनात्मक सीप विकासका लागि प्रेरित गर्नेः
आफ्ना बालबालिकाहरूसँग अभिभावकका धेरै नै अपेक्षाहरू हुने गर्दछन् । उनीहरूले रचनात्मक सीप र प्रतिभाको विकास गरेर छुट्टै पहिचान बनाउन सकून् भन्ने चाहना सबै अभिभावकहरूको हुन्छ । तर रहर गरेर मात्र यो सपना पूरा हुँदैन । यसका लागि अभिभावकहरूले पनि सकेसम्मको सहयोग र सहजीकरण गर्नुपर्दछ । कथा, कविता, निबन्ध जस्ता लेखरचना लेख्न खोज्नेलाई त्यस्ता कुरामा हौसला दिने र सकेसम्म त्यसलाई सहज बनाउने कोसिस गर्नुपर्दछ । कतिपयको रुचि चित्रकला, फोटोग्राफी, भिडियोग्राफी आदिमा पनि हुने गर्दछ । अन्य कतिपयको रुचि गायन, वाद्यवादन, नाटक आदिमा रहेको हुन सक्छ भने कसैको रुचि खेलकुदमा पनि हुने गर्दछ । यस्ता कुराले फस्टाउने मौका पाउनका लागि अभिभावकको साथ, समर्थन र सहयोग धेरै नै महत्वपूर्ण हुन्छ । बढी नै फुर्सदको यो समय झनै प्रभावकारी बन्न सक्दछ । यो समयलाई यस्ता रचनात्मक सीप र प्रतिभाको विकासका लागि खर्चने हो भने जीवनभरिकै लागि उत्पादक बन्न सक्दछ ।
समय त्यो बेला मूल्यवान् लाग्दछ जतिबेला मानिससँग पर्याप्त समय उपलब्ध हुँदैन । यस अवस्थामा मानिससँग समय नै समय छ तर त्यसको महत्व कम भएको पनि हुन सक्दछ । आफ्ना बालबालिकालाई समयको महत्व बुझाएर व्यवहारिक, जीवनोपयोगी र रचनात्मक कार्यमा क्रियाशील बनाउन सक्दा साँच्चै नै यो समयलाई बढी मूल्यवान् बनाउन सकिन्छ ।
(उपाध्यक्ष, झरना साहित्यिक परिवार मकवानपुर, प्राध्यापनरतः मकवानपुर बहुमुखी क्याम्पस)