कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता रामेश्वर राना ।

हेटौंडाः नेकपा एमालेका नेताहरुले एमालेको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार नेकपा एमाले, मकवानपुरले आयोजना गरेको विभिन्न समितिको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले नेकपा एमालेको प्रभावकारी भूमिकाबाट मात्रै राष्ट्रियताको रक्षा हुने बताएका छन् ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाले शुद्धिकरण आफैँबाट थालेर कम्युनिष्ट आन्दोलनलाई निष्ठाका साथ अगाडि बढाउनु पर्ने बताउनु भएको छ । रानाले गठबन्धन सरकारको नाममा राष्ट्रघात, जनविरोधी, अराजक क्रियाकलापले सीमा नाघेको बताउनुभयो । नेकपा एमालेको प्रभावकारी भूमिकाबाट नै यस्तो गलत क्रियाकलापलाई विस्थापन गर्नसक्ने उहाँको धारणा छ । यस्तै पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा बागमती प्रदेशका प्रथम मूख्यमन्त्री डोरमणी पौडेलले नेपालको राजनीतिमा नेकपा एमालेको भूमिकाको प्रभावकारी बनाउँदा नै राष्ट्रियताको रक्षा, संघीय गणतन्त्रको सुदृढीकरण र जनताको समस्या हल गर्न सकिने बताउनुभयो । उहाँले पार्टीको अभियानमा सबै कार्यकर्ता परिचालित हुनपर्ने बताउनुभयो ।

कार्यक्रममा लेखा समितिको संयोजकमा शेखर थपलियाको संयोजकत्वमा ७ सदस्यीय, जिल्ला सल्लाकार कमिटी बलराम हुँमागाईको नेतृत्वमा १ सय २५ सदस्यीय, जेष्ठ कम्युनिष्ट मञ्च बनमाली सुवेदीको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरेको छ । नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेल, प्रदेश कमिटीका सदस्यहरु बलराम बल, रघुनाथ खुलाल, दिलबहादुर घिसिङ्ग, अर्जुन अर्याल, भोजराज ढकाल, जिल्ला उपाध्यक्ष लालबहादुर थापा, सचिव नवीन सिग्देल, उपसचिव हिदम लामा, सीता विष्टलगायतको उपस्थिति रहेको थियो ।