हेटौंडाः प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भन्सार छलि ल्याएको अबैध कपडा नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार राति ११ बजेको समयमा सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे स्थित सडक खण्डमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा ५ ख २४६८ नम्बरको यात्रुबाहक बसलाई रोकी सुरक्षा जाँच गर्ने क्रममा अबैध कपडा फेला पारेको थियोे ।
बसको डिकी र छतमा गरी ७ बोरामा विभिन्न प्रकारको कुर्ता सुरुवाल ५८ पिस, साडी २९३ पिस, र सेन्डो गन्जी ३०० पिस फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त कपडाहरुको बारेमा बसको चालकसँग र बसमा सवार यात्रुहरुलाई सोधपुछ गर्दा कोही कसैले हक दाबी नगरेकोले सो कपडाहरु बेबारिसे भएको र भन्सार छलि ल्याएकोले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।