तथ्यांक विश्लेषणसम्बन्धी तालिममा सहभागी ।

हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापकहरुका लागि शैक्षिक अध्ययन अनुसन्धानका क्रममा उपयोगी तथ्यांक विश्लेषण विधिसम्बन्धी तालिमको आयोजना गरिएको छ । ७ दिने तालिमको आइतबार उद्घाटन गरिएको छ ।

अनुसन्धानको तथ्यांक विश्लेषणका लागि उपयोगी सफ्टवेयर स्टाटेस्टिकल प्याकेज फर सोसियल साइन्सेस (एसपीएसएस) सम्बन्धी तालिममा मकवानपुर बहुमुखी क्याम्पसका २० जना प्राध्यापक सहभागी छन् । दैनिक १ घण्टा हुने तालिममा मकवानपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. लोकराज शर्माले सहजीकरण गर्नुहुनेछ । मकवानपुर बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन इकाईको आयोेजनामा तालिम भएको हो ।

इकाईका संयोजक यमबहादुर सिलवालको अध्यक्षता तथा मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकरप्रसाद उपाध्याय, पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईका अध्यक्ष केशव तिमल्सिनाको पनि आतिथ्य रहेको थियो ।