हेटौंडाः हेटौंडा–९ स्थित मानवसेवा आश्रममा आश्रय लिइरहेका प्रायः वृद्धवृद्धाहरुको मानसिक सन्तुलन ठिक नभएको पाइएको छ । बिहीबार भर्चुअल माध्यमबाट मानसिक स्वास्थ्य परीक्षण गर्दा आधाभन्दा बढी वृद्धवृद्धाको मानसिक स्वास्थ्य ठिक नभएको पाइएको हो ।
मनोचिकित्सक डा. रवीन्द्रकुमार ठाकुरले २ सय जना वृद्धवृद्धाको मानसिक परीक्षण गर्दा अधिकांशको मानसिक सन्तुलन ठिक नभएको पाइएको मानवसेवा आश्रमका अभियन्ता इशा थापाले जानकारी दिनुभयो । मानसिक समस्या देखिएकाहरुको मानवसेवा आश्रमले उपचार गरिरहेको उहा“ले बताउनुभयो ।
“प्रायः बेसहारा तथा सडकमा कष्टकर जीवन बिताइरहेका व्यक्तिहरुको मानवसेवा आश्रमले उद्दार गर्दै आइरहेको छ”, अभियन्ता थापाले भन्नुभयो– “यसरी उद्दार गरिएका अधिकांश मानिसहरुको मानसिक अवस्था कमजोर रहेको छ ।” मानसिक स्वास्थ्य समस्यालाई समाधान गर्ने उद्देश्यले आश्रमले स्वास्थ्य परीक्षण गराएको उहाँले बताउनुभयो ।











