दिनेश हुमागाई

अनेरास्ववियु अर्थात नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नेपालको राजनैतिक आन्दोलनको इतिहासमा प्रगतिशील लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनको एउटा देशभक्त, कर्तव्यनिष्ठ योद्धा संगठन हो, आन्दोलनको सडकबाघ हो ।

अनेरास्ववियुसँग आवद्ध विद्यार्थीहरुको मात्र होइन देशमा भएका अन्य सम्पूर्ण घोषित/अघोषित संगठनहरुको पनि नेता संगठन हो । यस तथ्य हाम्रो माझ छर्लङ्गै रहेको छ । यस संगठनले शिक्षा क्षेत्रमा प्रगतिशील रुपान्तरण अझ वैज्ञानिक तथा व्यावसायिक शिक्षा प्रणाली होस्, सामाजिक विभेद्को अन्त्य गर्नुपर्छ, राष्ट्रिय एकता तथा स्वाधिनताको रक्षा गर्नुपर्छ साथै प्रजातान्त्रिक मूल्य मान्यता र सामाजिक एकताको पक्षमा आफूलाई उभ्याउँदै राष्ट्रलाई सम्पूर्ण एकतन्त्रीय निरंकुश व्यवस्थाको अन्त्य गर्ने र जनताको शासन व्यवस्था लोकतान्त्रिक गणतन्त्र स्थापित गर्ने काममा अहम भूमिका निर्वाह गरेको तथ्य सबैका सामु अनविज्ञ छैन ।

यद्यपि नेपालको विद्यार्थी आन्दोलनको मूल्यांकन गर्दा यस संगठनलाई पञ्चायती व्यवस्थाको विरोधी आन्दोलनको नेता संगठनको रुपमा लिन सकिन्छ । देशमा बढेको निरंकुशताले सबै जनताहरुको आफ्नो व्यक्तिगत हकहित गर्ने अधिकार समेत कठित गरेको तत्कालिन समयमा यस किसिमको व्यवस्थाले हित तथा अग्रगमनको दिशामा मुलुक जान सक्दैन भन्ने निष्कर्षमा पुगी राजनीतिक व्यवस्थामा आमुल परिवर्तन अपरिहार्य छ भन्दै पहिलो आवाज बुलन्द गरी आन्दोलनको शंखघोष गरी अग्रमोर्चामा उभी संघर्ष गरेको यसको गर्विलो इतिहास छ ।

निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र जनताले खोजको जस्तो लोकतान्त्रिक व्यवस्थाको स्थापनापछि नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले सञ्चालन गरेको यथास्थितिवादी र सत्ता केन्द्रित राजनीतिबाट मुक्त गराउने र शिक्षा क्षेत्रमा सबैको सहज पहुँचको अवस्था बनाउने साथै शिक्षा क्षेत्रलाई आधुनिक, वैज्ञानिक तथा रोजगारमुलक बनाउने विषयको उठान गर्दै अग्रपङ्तीमा रह्यो । तत्पश्चात माओवादीले अगाडि सारेको हत्या हिंसाको बाटोको खुलेर विरोध गर्यो । हतियारको आडमा शासन व्यवस्था हातमा लिन्छौं भन्ने दिवास्वप्न सम्पन्न गर्न सकिन्छ, राजनीतिक क्रान्ति गर्न सकिन्छ भन्ने मूल्य मान्यतालाई शिरोधार्य गर्दै अगाडि बढ्यो ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहको निरंकुश शासन व्यवस्थाविरुद्ध अनेरास्ववियुको अगुवाईमा सम्पूर्ण विद्यार्थी सगंठनलाई एकतावद्ध गरी सामुहिक आन्दोलनको माध्यमबाट त्यो वादशाह सिंहासनबाट नागार्जुन जंगलमा पुर्याउने पहल कदमी गरेको यथार्थ हामीमाझ ताजा नै छ । अनेरास्ववियुले विगत लामो समयदेखि भारतीय विस्तारवादको नीतिमा ठाडोे चुनौती दिँदै आइरहेको छ । भारतीय शासक वर्ग नेपाली जनताको हितमा छैन भन्ने बुझेर नै यसले कालापानीबाट भारतीय सेना हट्नुपर्छ भन्दै कालापानी मार्चपास गर्ने, लक्ष्मणपुर बाँध भत्काउनुपर्छ भनेर लक्ष्मणुुपर मार्चपास गर्ने, महेशपुर सुस्तामा भारतीयबाट भएको सिमा अतिक्रमण बन्द गर्नुपर्दछ भनेर सुस्ता बचाउ अभियान सञ्चालन गर्ने, पशुपतिनगरमा भएको अतिक्रमणको विरुद्धमा पशुपतिनगर अभियान चलाउने साथसाथै देशका सबै ठाउँहरुमा थुप्रै रचनात्मक र सिर्जनात्मक काम गर्दै आयो । सिमा क्षेत्रमा गरिएको अतिक्रमण, राजनीतिक, आर्थिक र साँस्कृतिक क्षेत्रमा गरिएको हस्तक्षेपको विरोध गर्दै अनेरास्ववियुले आफूलाई देशभक्त शैलीका रुपमा स्थापित गरिसकेको छ ।

अबको विद्यार्थी आन्दोलन

अहिले हामी अनेरास्ववियु मकवानपुरको २७ औं जिल्ला अधिवेशनको संघारमा छौं । विभिन्न आरोह–अवरोह पार गर्दै यस स्वर्णिम चरणमा आइपुगेका छौं । विद्यार्थी आन्दोलनको सही नेतृत्व गर्न सक्ने स्पष्ट, बौद्धिक र सक्षम नेतृत्व चयन गरी सांगठनिक गतिविधि चुस्तदुरुस्त बनाई शैक्षिक मुद्दामा पहरेदारको भूमिका निर्वाह गर्नु अबको नयाँ नेतृत्वको कार्यभार रहेको छ ।

विद्यार्थी संगठन पार्टीको योग्य नेता कार्यकर्ता उत्पादन गर्ने नर्सरी हो । आम विद्यार्थी वर्ग चेतनशील र शिक्षित वर्ग हो । तर आम शिक्षित वर्गमा अहिले राजनीतिप्रति वितृष्णा छ । शिक्षित वर्गहरु अहिले धुमिलिएको राजनीतिक अवस्था परिवर्तनका लागि राजनीतिमा आउनैपर्छ । किन कि पोखरी फोहोर छ भनेर डिलमा कराएर मात्र हुँदैन । पोखरीमा नै झरेर सफा गर्नुपर्छ तब मात्र सफा स्वच्छ र हराभरा हुन्छ । यसका लागि आम विद्यार्थीहरुमा राजनीतिक चेतना जागृत गराउनुपर्दछ । अझ अखिल जस्तो काम आदर्शमा झुकाव राख्ने संगठनका नेता तथा आम कार्यकर्ताहरु वैचारिक दृष्टिकोणले उच्च हुनुपर्दछ । त्यसैले अब बन्ने नयाँ नेतृत्वले अखिलका नेता तथा कार्यकर्ताहरुलाई वैचारिक सांगठनिक र राजनीतिक रुपमा प्रशिक्षित गरी अझ योग्य बनाउने दिशामा आफ्ना कार्यक्रमहरु अघि लैजानुपर्दछ ।

नेपालको वर्तमान शिक्षा प्रणाली असमान तथा अवैज्ञानिक छ । यसबाट दक्ष जनशक्ति भन्दा अध्यक्ष जनशक्ति विशेषगरी शैक्षिक बेराजगारीको उत्पादन भइरहेको छ । त्यसमाथि झन वर्गीय विभेद शिक्षा क्षेत्रमा पनि धेरै नै मौलाएको छ । अहिले शिक्षा क्षेत्रमा दुई किसिमका जनशक्ति आइरहेको छ । “हुने खाने” वर्गका छोराछोरीहरु महङ्गो शुल्क तिरेर उत्कृष्ट निजी विद्यालयहरुमा गुणस्तरीय शिक्षा हासिल गरी युरोप अमेरिका पलायन भइरहेका छन् । भने “हुँदा खाने” का छोराछोरीहरु सामुदायिक विद्यालयहरुबाट शैक्षिक बेरोजगार बनेर खाडी मुलुकमा ५० डिग्रीको तातो घाममा आफ्नो श्रम बेच्ने बाध्यतामा छन् । तर देशको वर्तमान राज्य व्यवस्थाले खुल्ला अर्थनीति अङ्गिकार गरेको कारणले निजी शैक्षिक संस्थाहरुमा अंकुश लगाउन सकिँदैन ।

वर्तमान समस्याको समाधान निजी विद्यालयहरुलाई गाली गरेर अथवा निजी क्षेत्र बन्द गरेर यसको समाधान निस्कँदैन । यसका लागि नेपालको वर्तमान शिक्षा ऐनमा समयसापेक्ष भरपुर संशोधन गरी सामुदायिक शैक्षिक संस्थाहरुको गुणस्तर वृद्धि गर्नु र निजी विद्यालयहरुलाई सामाजिकीकरण गरी समाजमा बिक्न र टिक्न दक्ष जनशक्ति उत्पादन गरी नेपालको विकासमा योगदानको एउटा–दुई वटा थप्ने कार्यमा अनेरास्ववियुले पहलकदमी गर्नुपर्दछ ।

नेपालको संविधान २०७२ ले शिक्षा सबैको पहुँचमा हुने गरी आधारभूतसम्म अनिवार्य र निशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निशुल्क पाउने भनी व्याख्या गरेको छ । तर पनि धेरै बालबालिकाहरु अहिले विद्यालयभन्दा बाहिर छन् । जबसम्म शिक्षालाई अनिवार्य गरिँदैन तबसम्म निशुल्क शिक्षा प्रभावकारी हुँदैन । त्यसैले माध्यमिक तहसम्म शिक्षालाई निशुल्क र अनिवार्य बनाउने दिशामा सरोकारवालाहरुलाई दबाव अनेरास्ववियुले दिनुपर्दछ ।
हरेक विद्यालय क्याम्पसमा अनेरास्ववियुले रचनात्मक कार्यक्रमबाट विद्यार्थीको मनोबल बढाउने र क्षमतावृद्धिमा जोड दिनुपर्दछ । राज्यलाई कलकारखाना वृद्धिमा जोड दिँदै स्वरोजगारी बनाउने र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गराउनुपर्दछ । प्राविधिक शिक्षालाई निरन्तरता दिँदै मौलिकलाई आत्मसात गर्दै व्यवहारिक शिक्षा लागु गर्न अनेरास्वयिुले अबको दिनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ ।

(लेखक अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीका सह–सचिव हुनुहुन्छ ।)