मनहरीः मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित मनहरी सामुदायिक पुस्तकालयको प्रथम वार्षिकोत्सवको अवसरमा पुस्तकालयका सहयोगीलाई सम्मान गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच सहयोगीलाई सम्मान कार्यक्रम भएको हो ।
पुस्तकालयका अध्यक्ष इन्द्रमणि स्याङ्तानको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य ओम बहादुर ग्लानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यिक रचना पनि वाचन गरिएको थियो । २०७८ साल साउन ९ गते पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा मनहरी गाउँपालिकाकै पहिलो पुस्तकालयको रुपमा मनहरी सामुदायिक पुस्तकालयको स्थापना भएको थियो । पुस्तकालय स्थापनाको योजना बनाए पनि कार्यान्वयन गर्न नसकिरहेको अवस्थामा पुस्तकालय अभियान समूहको सहयोगमा पुस्तकालय स्थापना भएको र क्रमिक विकासको प्रयास भइरहेको अध्यक्ष स्याङ्तानले बताउनुभयो ।
कार्यक्रममा पुस्तकालय अभियान समूहका सदस्य सुरेश श्रेष्ठले पुस्तकालय अभियान समूहको सहयोगमा स्थापित पुस्तकालय मध्ये मनहरी सामुदायिक पुस्तकालय उदाहरणीय रहेको बताउनुभयो । पुस्तकालय स्थापनाका लागि गाउँपालिकाले ध्यान दिनुपर्ने उल्लेख गर्नुहुँदै अभियन्ता श्रेष्ठले मनहरी सामुदायिक पुस्तकालयकै अग्रसरतामा पालिकाका सबै वडामा पुस्तकालय स्थापना हुनुपर्ने सुझाव दिनुभएको छ ।
कार्यक्रममा मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम् थिङ, मनहरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी, नेपाली कांग्रेस मनहरी गाउँपालिका समितिका सभापति प्रकाश बर्तौला, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका अध्यक्ष नारायण सुवेदी, साहित्य संगम मकवानपुरका पूर्व अध्यक्ष श्याम कुमार बानियाँको आतिथ्य रहेको थियो । मनहरी सामुदायिक पुस्तकालयमा ४ सयभन्दा बढी पुस्तक छ भने एक सय सदस्य रहेको पुस्तकालयका सचिव मनोज मोक्तानले जानकारी दिनुभयो ।