
हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसले क्याम्पसमा अध्यापनरत दुईजना उपप्राध्यापकलाई विद्यावारिधी उपाधीको अध्ययन तथा अनुसन्धानमा सहयोग गरेको छ । प्राध्यापकको व्यक्तित्व विकास, शैक्षिक उन्नयनका लागि जनशक्ति विकास योजनाअन्तर्गत सहयोग गरिएको मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकरप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ ।
दुबैजना उपप्राध्यापकसँग अनुदान सहयोग सम्बन्धी सम्झौता मंगलबार भएको छ । मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक निमेष निखिल र उपप्राध्यापक घनश्याम घिमिरेलाई विद्यावारिधी तहको अध्ययनका लागि ७५ प्रतिशत अनुदान रकम उपलब्ध गराएको छ । घिमिरे र निखिलले नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधी उपाधिका लागि अध्ययन तथा अनुसन्धान गरिरहनुभएको छ । यसअघि मकवानपुर बहुमुखी क्याम्पसले एमफिल तहको अध्ययनका लागि उपप्राध्यापकहरु उमेश महत र पुरुषोत्तम खतिवडालाई पनि अनुदान उपलब्ध गराएको छ । मकवानपुर बहुमुखी क्याम्पसले एमफिल तथा विद्यावारिधी तहको अध्ययनका लागि विश्वविद्यालयलाई बुझाउनुपर्ने कुल रकमको ७५ प्रतिशत रकम वा २ लाख ५० हजार रुपैयाँ मध्ये जुन कम हुन्छ सोही बराबरको रकम अनुदानस्वरुप प्रदान गर्ने व्यवस्था गरेको छ ।
निमेष निखिल र घनश्याम घिमिरेलाई समान १ लाख ८६ हजार रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने सम्झौता भएको क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ । क्याम्पसले अनुदान रकम तीन किस्तामा उपलब्ध गराउनेछ । क्याम्पसको अनुदान सहयोगमा एमफिल र विद्यावारिधी तह अध्ययन पूरा गरेका प्राध्यापकले अध्ययन सकेपछि ५ वर्षसम्म क्याम्पसमै प्राध्यापन गर्नुपर्नेछ । प्राध्यापकहरुको उच्च शिक्षाका लागि क्याम्पसले बजेट विनियोजन गरेको जानकारी गराउनुहुँदै क्याम्पस प्रमुख डा. उपाध्यायले प्राध्यापकका लागि उच्च तहको अध्ययन गर्न अनुदान दिने बजेटको अभाव नहुने स्पष्ट पार्नुभयो ।
विद्यावारिधी उपाधिका लागि निमेष निखिलले २०७६ साल बैशाखबाट सुरु गर्नुभएको अध्ययन तथा अनुसन्धानको कार्य प्राविधिक मूल्यांकनको चरणमा रहेको जानकारी दिनुभयो । निमेष निखिलले “गणतन्त्रपछिका नेपाली गद्यकवितामा वक्रोक्ति” शीर्षकमा विद्यावारिधी तहको अध्ययन, अनुसन्धान गरिरहुनभएको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट मानविकी संकायबाट नेपाली विषयमा स्नात्तकोत्तर तह अध्ययन पूरा गर्नुभएका निमेष निखिलले हेटौंडा क्याम्पसबाट शिक्षाशास्त्र संकायअन्तर्गत नेपाली विषयमै स्नात्तकोत्तर गर्नुभएको छ । ३ वटा कविता संग्रह प्रकाशन गर्नुभएका निमेष निखिलले शैक्षिक जर्नलमा अनुसन्धानमूलक लेख रचना लेख्दै आउनुभएको छ ।
यस्तै उपप्राध्यापक घनश्याम घिमिरेले “यौनपरक नेपाली उपन्यासमा वात्सायन सुत्रको प्रभाव” शीर्षकमा अध्ययन तथा अनुसन्धान गरिरहनुभएको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट मानविकी संकायबाट नेपाली विषयमा स्नात्तकोत्तर तह उत्तीर्ण गर्नुभएका घिमिरेले आफ्नो विद्यावारिधी तहको अध्ययन तथा अनुसन्धानको कार्य २०८० मंसिरसम्ममा पूरा हुने अनुमान गर्नुहुन्छ ।
यसअघि मकवानपुर बहुमुखी क्याम्पसमा शंकरप्रसाद उपाध्याय, रामप्रसाद अधिकारी, यम बहादुर सिलवाल, श्याम छतकुली, लोकराज शर्मा, ललित दासले विद्यावारिधी उपाधि हासिल गरिसक्नु भएको छ । दश जोड दुई तह, स्नातक र स्नात्तकोत्तर तहको अध्यापन हुने मकवानपुर बहुमुखी क्याम्पसमा करिब ७ हजार विद्यार्थी अध्ययनरत छन् ।










