हेटौंडाः बागमती प्रदेश सभाको दशौं अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको दशौं अधिवेशन सोमबार राती १२ बजेदेखि लागु हुने गरी अन्त्य गर्नुभएको हो ।
दशौं अधिवेशनले मुख्यतः चालु आर्थिक वर्ष नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्रदेश सभा सचिवालयका सचिव कृष्ण हरि खड्काले प्रदेश सभाको दशौं अधिवेशन अन्त्य भएको जानकारी गराउनुभएको छ । दशौं अधिवेशनको अन्त्यसँगै बागमती प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले मंगलबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दै हुनुहुन्छ ।