जिल्ला अध्यक्ष र सचिवको भेलालाई सम्बोधन गर्नुहुँदै स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्ण प्रसाद बास्तोला ।

पोखराः स्वतन्त्र पत्रकार संघ नेपालको जिल्ला शाखाका अध्यक्ष तथा सचिवहरुको राष्ट्रिय भेला पोखरामा सम्पन्न भएको छ । भेलाले संगठन सुदृढ तथा विस्तार गर्ने लगायत पत्रकारहरुका हकहितका विषयमा विभिन्न निर्णय गरेको संघका महासचिव महेश विक्रम कुँवरले जानकारी दिनुभयो । भेलाको उद्घाटन संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गर्नुभएको थियो । भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष बास्तोलाले स्वतन्त्र पत्रकारिता गर्ने मात्र पत्रकार हुने बताउँदै पत्रकारको कार्ड भिर्दैमा कोही पत्रकार बन्न नसक्ने स्पष्ट पार्नुभयो ।

“सत्यतथ्य समाचार प्रस्तुत गर्न पत्रकार स्वतन्त्र हुनै पर्छ”, उहाँले भन्नुभयो, “पत्रकारिता जस्तो विशिष्ट तथा मार्यादित पेशा छाडेर राजनीतिक संगठनमा आबद्ध हुनेले भोलि पश्चाताप गर्नुपर्ने दिन आउन सक्छ ।” कतिपय अवस्थामा छद्मभेषीहरुलाई पनि पत्रकार भन्ने गरिँदा पत्रकारको गरिमामा आँच पुगेको पनि बास्तोलाले जीकिर गर्नुभयो ।

संघका उपमहासचिव सुरेश श्रेष्ठले संस्थालाई व्यवस्थित गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । संघका २९ जिल्ला शाखा र राष्ट्रिय समितिसहित ७५ जना पत्रकार आमन्त्रित उक्त भेलामा सहभागिहरुले विभिन्न सुझावहरु राखेका थिए । भेलामा संघको कास्की शाखाका अध्यक्ष असफल गौतम, काठमाडौं शाखाका अध्यक्ष पुष्करराज पाण्डे, तनहुँ शाखाका अध्यक्ष सुरेश सुनार, ललितपुरका अध्यक्ष उपेश नौबाग, मकवानपुरका अध्यक्ष गोकुल अधिकारी, पाल्पा शाखाका अध्यक्ष भोजराज भट्टराई, अछामका विष्णुबहादुर खड्का लगायतले जिल्लाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोश्रो दिन शनिबार भेलाका सहभागीहरुलाई पोखराका विभिन्न स्थलको अवलोकन भ्रमण गराइएको थियो । त्यस अवसरमा पत्रकारहरुले फेवाताल, विन्ध्यवासिनी मन्दिर, पुम्दीकोटको विशाल महादेव मूर्ति र छोरेपाटनको गुप्तेश्वर गुफा अवालोकन गरेका थिए । यसैगरी पत्रकारहरुले पोखराको पृथ्वीनारायण क्याम्पस पुगी नेपाली विभागद्वारा संचालित पुस्तकालयबारे जानकारी लिएका थिए ।