हेटौंडाः भारतमा सोमबारदेखि सुरु भएको साफ यू–२० च्याम्पियनसीप फुटबलको पहिलो खेलमा नेपालले शानदार जीत दर्ता गरेको छ । नेपालले माल्दिभ्सलाई ४–० गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्दै विजयी सुरुवात गरेको हो ।
पहिलो हाफको ४१ औं मिनेटमा दिपेश गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५७ औं मिनेटमा सुगम सुवालले गोल गर्दै २–० को अग्रता बनाएका थिए । नेपालका लागि तेस्रो गोल पेनाल्टीमा सम्भव भएको हो । नेपालका क्याप्टेन आयुष घलानलाई पेनाल्टी एरियामा लडाएपछि प्राप्त पेनाल्टीमा क्रिटिस रत्न छुन्जुले गोल गरेका थिए । चौथो गोल इन्जुरी समयमा सम्भव भएको हो । इन्जुरी समयमा नेपालका लागि मनग्य नकर्मीले गोल गरेका हुन् ।
नेपालले बुधबार श्रीलंकासँग खेल्नेछ । नेपालले साउन १५ गते आयोजक भारतको सामना गर्नेछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ । सहभागी ५ टोलीको राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।