हेटौंडाः जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरले विगत केही दिनदेखि कोरोना भाइरस संक्रमण निरन्तर बढेको भन्दै अक्सिजन, स्वास्थ्य जनशक्ति र औषधीहरु तयारी अवस्थामा राख्न आग्रह गर्ने निर्णय गरेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निरन्तर रुपमा बढेको पाइएकाले तयारीमा रहन जिल्ला अस्पताल र स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरिएको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरको गत बुधबार बसेको बैठकले कोभिड—१९ संक्रमण बढेकाले रोकथाम, नियन्त्रण र व्यस्थापनमा सक्रिय रहन आग्रह गरेको छ । स्वास्थ्य संस्थाहरुमा आवश्यक वेड, स्वास्थ्य सामग्री, जनशक्ति, औषधी र अक्सिजनलगायतलाई तयारी अवस्थामा राख्न जिल्लास्थित अस्पताल तथा स्थानीय तहलाई आग्रह गर्ने निर्णय भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
कोभिड–१९ को परीक्षणको दायरा बढाउन, जनस्वास्थ्यको मापदण्ड पालना गर्न, गराउन स्थानीय तह, स्वास्थ्य कार्यालय मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर, नेपाल पत्रकार महासंघ र गैरसरकारी संघसंस्थाहरुलाई सन्देशमूलक जानकारी प्रचारप्रसार गर्न आग्रह गरिने भएको हो । यस्तै खोप÷बुष्टर खोप लगाउन छुटेका समूहहरुको पहिचान गरी त्यस्ता समूहलाई लक्षित गरी खोप÷बुष्टर खोप कार्यक्रम अभियान सञ्चालन गर्न स्वास्थ्य कार्यालय मकवानपुरले स्थानीय तहसँग समन्वय गर्न आग्रह गरिने भएको छ ।
हेटौंडा अस्पतालमा कोभिड संक्रमित व्यक्तिहरुको निःशुल्क उपचार गर्ने सम्बन्धमा कोभिड उपचारमा कार्यरत जनशक्तिहरुको म्याद थप र उपचारको शोधभर्नाको व्यवस्थाका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरले आग्रह गरेको छ ।