धरौटीमा छुटेका वडाअध्यक्षलाई जिल्ला प्रहरी कार्यालय परिसरमै टिका र खादा लगाउँदै ।

हेटौंडाः विद्यार्थीमाथि यौन दूर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मकवानपुरको कैलाश गाउँपालिका–९ का वडा अध्यक्ष भुवन सिं घलान २४ हजार रुपैयाँ धरौटीमा छुटेका छन् । पक्राउ परेको एक सातामै घलानलाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

विद्यार्थी माथि यौन दूर्व्यवहार गरेको मुद्दामा प्रहरीले ६ दिनमै प्रारम्भिक अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा मुद्दा पेश गरेको छ । राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोेगिताअन्तर्गत जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन हेटौंडा आएकी छात्रालाई असार १८ गते राती छात्रा बसेको होटलमै पुगेर यौन दूर्व्यवहार गरेको आरोप लागेका वडाअध्यक्ष विरुद्ध पीडितले असार २४ गते जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्ता भएको ५ दिनपछि असार २८ गते मंगलबार प्रहरीले वडा अध्यक्ष घलानलाई पक्राउ गरेको थियो ।

विद्यार्थीमाथि यौन दूर्व्यवहार गरेको घटनालाई वडा अध्यक्ष घलान आवद्ध राजनीतिक दल नेपाली कांग्रेस कैलाश गाउँ समितिले राजनीतिक आधारमा निर्वाचनमा पराजित दलले गलत आरोप लगाएको भन्दै राजनीतीकरण गर्न खोजेको थियो । यता पीडित विद्यार्थी सेफ हाउसमै भएको बेला आरोपी भने छुटिसकेका छन् ।

विद्यार्थीमाथि यौन दूर्व्यवहार जस्तो जघन्य अपराधको मुद्दा प्रहरीले एक साता पनि नबित्दै सरकारी वकिलको कार्यालयमा बुझाएको देखिन्छ भने सरकारी वकिलको कार्यालयले पनि प्रहरीको फाइल आएलगत्तै अदालतमा पेश गरेर आरोपित व्यक्ति धरौटीमा रिहा हुनुले प्रहरी, सरकारी वकिलको कार्यालय र अदालतको कार्यसम्पादनमा नै आशंका उब्जाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले हिरासतमा थुनुवाको चाप बढी भएका कारण छिटो मुद्दा तयार पार्नुपर्ने अवस्था रहेको र प्रक्रियाअनुसार नै मुद्दा सरकारी वकिलको कार्यालयमा पठाइएको दावी गर्नुभयो । धरौटीमा रिहा भएका वडा अध्यक्ष घलानलाई जिल्ला प्रहरी कार्यालय परिसरमै आफन्त र पार्टीका नेता, कार्यकर्ताले अवीर, खादा लगाएर स्वागत गरेका थिए ।