विद्यार्थीलाई सम्बोधन गर्नुहुँदै महानायक राजेश हमाल । तस्वीरः बिनोद बानियाँ/समृद्ध समाज ।

हेटौंडाः नेपाली सिनेमाका महानायक राजेश हमालले मकवानपुरमा विद्यार्थीलाई महत्वपूर्ण सुझाव दिनुभएको छ । मंगलबार हेटौंडा स्कूल अफ म्यानेजमेन्टले आयोजना गरेको शैक्षिक महोत्सवमा सहभागी विद्यार्थीलाई अभिप्रेरणामूलक प्रवचन दिनुहुँदै राजेश हमालले विद्यार्थीले शैक्षिक योग्यतासँगै आफ्नो व्यक्तित्व विकास गर्न सुझाव दिनुभयो । ‘विद्यार्थी जीवनमा शैक्षिक योग्यता हासिल गर्नका लागि अध्ययन गर्ने मात्रै नभई आफ्नो व्यक्तित्व विकासमा ध्यान दिनु जरुरी छ’, उहाँले भन्नुभयो ।

सिकाईको क्रम कहिल्यै नसक्किने उल्लेख गर्नुहुँदै अहिले समाज तीव्र गतिमा परिवर्तन भइरहेकोले समाजको परिवर्तनको गतिअनुसार आफुलाई अद्यावधिक गर्दै जानुपर्नेमा हमालले जोड दिनुभयो । युवालाई भोलिको कर्णधार भनेर व्याख्या गर्ने गरिए पनि युवाले भविष्यलाई भन्दा वर्तमान समयअनुसार चल्न र आफूलाई सक्षम बनाउनु जरुरी रहेको उहाँले स्पष्ट पार्नुभयो । महानायक राजेश हमालले आधुनिकताको नाममा अंग्रेजी भाषा जान्नु मात्रै पर्याप्त नहुने जीकिर गर्नुहुँदै भन्नुभयो, ‘आफ्नो भाषा, संस्कृति, कलाले परिचित हुनुपर्छ । हामीलाई परिचित गराउने आफ्नै भाषा, संस्कृति र कलाले हो ।’

विद्यार्थीसँग अन्तरक्रिया गर्नुहुँदै महानायक राजेश हमाल । तस्वीरः बिनोद बानियाँ/समृद्ध समाज ।

युवाले आफ्नो सीप, दक्षता र क्षमताअनुसारको काम गर्नुपर्ने महानायक हमालको धारणा थियो । आत्मविश्वास नै सफलताका लागि व्यक्तिको सशक्त माध्यम भएको उल्लेख गर्नुहुँदै हमालले भन्नुभयो, ‘पछिल्लो समय समाज तीव्र गतिमा परिवर्तन भइरहेको छ । तीन सय वर्ष अगाडि र ३० वर्ष अगाडिको समयमा खासै भिन्नता थिएन । तर, पछिल्लो १५/२० वर्षको अवधिमा समाज तीव्र गतिमा परिवर्तन भइरहेको छ । आत्मविश्वासका साथ परिवर्तित समयका लागि आफूले आफैंलाई तयार पार्नु जरुरी छ ।’ प्रविधि र कृत्रिमताले समाजमा तीव्र परिवर्तन ल्याएको उहाँको भनाइ थियो ।

युवाले बनिबनाउ बाटोमा सजिलो यात्रा गर्ने अपेक्षा विपरित नयाँ बाटो कोर्ने प्रयास गर्नुपर्नेमा हमालले जोड दिँदै भन्नुभयो, ‘मैले पहिलो पटक चलचित्रमा अभिनय गर्ने क्रममा अर्को चलचित्र कहिले पाउँला भन्ने ठेगान थिएन । म भविष्य हेरेर चलचित्र क्षेत्रमा आएको होइन । आफू र आफ्नो क्षेत्र कसरी सफल बनाउने भन्ने ध्यान दिनुपर्छ ।’ समान व्यवहारको अपेक्षा गर्न नहुने पनि हमालको धारणा थियो । सबैको आआफ्नै दक्षता र क्षमता रहने हुँदा सोही अनुसार फरक फरक व्यवहार जरुरी रहेको उहाँको भनाइ थियो । आफ्ना कुरा राखिसकेपछि राजेश हमालले सहभागी विद्यार्थीसँग अन्तरक्रिया समेत गर्नुभएको थियो ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्टले ख्याती प्राप्त सफल व्यक्तिसँग विद्यार्थीलाई अन्तरक्रिया गराएर विद्यार्थीको आत्मबल बढाउने, विद्यार्थीको सक्षमता अभिवृद्धि गराउने प्रयास गरेको जनाएको छ । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले सधैं पाठ्यक्रमको विषय अध्ययन गरेर बसेका विद्यार्थीलाई सफल र समाजमा छुट्टै परिचय स्थापित गरेका व्यक्तित्वसँग अन्तरक्रिया गराएर आत्मविश्वास बढाउने प्रयास गरेको बताउनुभयो । राजेश हमाल कलाकार मात्रै नभएर वौद्धिक व्यक्तित्व, सामाजिक अभियन्ता, सामाजिक सेवाको क्षेत्रमा पनि सक्रिय व्यक्तित्व भएकोले आमन्त्रण गरेको उहाँको भनाइ थियो ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्टका शैक्षिक निर्देशक दिपेश जोशीले शैक्षिक कार्यक्रम र प्रभावकारी शिक्षणका लागि सञ्चालित कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । वार्षिक परीक्षाको नतीजा राम्रो रहेको उल्लेख गर्नुहुँदै निर्देशक जोशीले भन्नुभयो, ‘हामी विश्वविद्यालय तहको शिक्षालाई प्रभावकारी बनाएर एक्काइसौं शताब्दीअनुकुल विद्यार्थीलाई सक्षम बनाउने प्रयासमा छौं । विद्यार्थी केन्द्रित शिक्षण एवम् शैक्षिक क्रियाकलापका लागि प्राध्यापकको क्षमता विकासको कार्य पनि गरिरहेका छौं ।’ शैक्षिक महोत्सवमा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका विद्यार्थी, प्रध्यापक र कर्मचारीले महोत्सवमा सहभागीलाई सञ्चालनमा रहेको शैक्षिक कार्यक्रम, महाविद्यालयमा हुने शैक्षिक क्रियाकलापका बारेमा जानकारी गराएका थिए ।