प्रयोगशालाको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री कुमारी मोक्तान ।

हेटौंडाः हेटौंडा १८ फुर्केचौर स्थित गोरक्षनाथ माध्यामिक विद्यालयमा सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गरिएको छ । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।

शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको १५ लाख रुपैयाँ सहयोगमा सूचना प्रविधि प्रयोगशालाको स्थापना भएको विद्यालयका प्रधानाध्यापक होम नेपालीले जानकारी दिनुभयो । प्रयोगशालामा १७ वटा डेस्कटप, ३ वटा ल्यापटप, २ वटा प्रोजेक्टर, १ थान स्मार्ट बोर्ड, १ थान इन्टिग्रेटेड सिपीयु विथ प्रोजेक्टर रहेको उहाँँले बताउनुभयो । विद्यार्थीमा सूचना प्रविधिको क्षेत्रमा सैद्धान्तिक शिक्षा मात्र नभएर व्यवहारिक शिक्षा हासिल गर्न प्रयोगशालाको स्थापना गरिएको प्रधानाध्यापक नेपालीले बताउनुभयो ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री मोक्तानको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँको सभाध्यक्षमा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पूर्णबहादुर दर्जीको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले प्रदेश सरकारले सूचना प्रविधि प्रयोगशाला प्रदेशका सबै विद्यालयमा स्थापना गर्ने घोषणा जानकारी दिनुभएको छ । शिक्षामा प्रविधिको प्रयोगले सिकाई दिगो र प्रभावकारी हुने पूर्णबहादुर दर्जीको विश्वास छ ।

सोही अवसरमा विद्यालयमा सेवा निवृत्त भएका शिक्षकहरु बरुणकुमार खतिवडा, सुन्दर श्रेष्ठ र योगराज खतिवडालाई सम्मान गरिएको थियो । कक्षा १ देखी १० सम्म पठनपाठन हुने विद्यालयमा ३ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।