हेटौंडाः हेटौंडा अस्पतालको सुधारको माग गर्दैं अस्पताल परिसरमा प्रदर्शन गर्दै आएको समूहले बिहीबार अस्पताल प्रशासन समक्ष १५ बुँदे माग प्रस्तुत गरेको छ । संघर्षरत समूहले अस्पतालमा सेवाग्राहीको चापलाई ध्यानमा राखेर टिकट काउन्टर र जनशक्ति थप गरी बिरामीलाई अनावश्यक हैरानी तथा कठिनाई हटाउनु पर्ने, नेपाल सरकारको बीमा वापत उपलब्ध हुनुपर्ने सम्पूर्ण सुविधा स्वास्थ्य जाँच र औषधि उपलब्ध गराउनु पर्ने, बीमाबाट उपलब्ध नहुने औषधि अस्पतालमा नै खरिद गर्ने व्यवस्था गर्नुपर्ने, तोकेको समयमा सेवा अवधिभर स्टाफ नर्स तथा डाक्टरहरुले अस्पतालमा सेवा दिनु पर्ने माग गरिएको छ ।

यस्तै अस्पतालमा आउने सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रदान गर्नुपर्ने, तोकिएको समयमा अस्पतालका डाक्टरले अन्य मेडिकलमा गएर सेवा दिएको पाइएमा तत्काल कारबाहि गरी निलम्बन गर्नुपर्ने, सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न हेल्प डेस्कको स्थापना गर्नु पर्ने, हरेक महिनाको एक दिन अस्पतालको प्रमुख, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, संघर्ष समितिका सदस्यले संयुक्त अनुगमन गर्नुपर्ने माग पनि संघर्ष समितिको छ । अस्पतालमा निःशुल्क शुद्घ खानेपानी, सफा शौचालय, स्वच्छ वातावरणसाथै सुविधासम्पन्न विरामी कुरुवा कक्षको अनिवार्य व्यवस्था हुनुपर्ने, कर्मचारीलाई कामको अवधिमा अनावश्यक रुपमा मोबाइल प्रयोग निषेध गर्नुपर्ने, चमेनागृहमा राखिएको सबै किसिमका खाद्य सामग्रीहरुको मूल्य सूची निर्धारण गरेर टास्नु पर्ने, सुरक्षाको व्यवस्था राम्रो गर्नु पर्नेछ, एक्स–रे, भिडियो एक्स–रे, ल्याबको मेशिनहरु सही सलामत हुनुपर्ने, सम्बन्धित दक्ष जनशक्तिद्वारा स्वास्थ्यजाँच गराउनु पर्ने, विरामीलाई यथाशिघ्र रिपोर्ट उपलब्ध गराउनुपर्ने, कार्यरत सम्पूर्ण कर्मचारी, डाक्टरहरु सबैको डिजिटल हाजिरी र अस्पताल परिसर लगायत सम्पूर्ण ठाउँमा सिसिटिभी क्यामरामार्फत नियमित निरीक्षण गरिनुपर्ने, अस्पतालबाट निस्केको फोहोरको उचित व्यवस्थापन गर्नु पर्ने माग उनीहरुको छ । हेटौंडा अस्पतालका अध्यक्ष डा. राजेश प्रसाई र हेटौंडा अस्पतालका सुपरिडेन्ट डा. रामचन्द्र सापकोटालगायत अस्पताल व्यवस्थापन समितिले आन्दोलनकारीहरुको माग पूरा गर्ने बताएका छन् ।