बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानलाई ध्यानाकर्षण पत्र बुझाउँदै ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाका शैक्षिक क्षेत्रमा देखिएको समस्याको समाधान गर्न गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारी बागमती गाउँपालिकाका कमिटीले बुधबार पालिकामा उपस्थित भएर ध्यानाकर्षण पत्र बुझाएको संगठनका जिल्ला सदस्य दीपक वाईबाले जानकारी दिनुभयो ।

अखिल क्रान्तिकारी बागमती गाउँपालिका कमिटीका सचिव आशाराम थिङले गाउँपालिकाका अध्यक्ष सर्केश घलानलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । ज्ञापन पत्रमा गाउँपालिका अध्यक्ष छात्रवृत्ति कोषको स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । प्रत्येक बालबालिकाले माध्यामिक तहसम्म निःशुल्क पढ्न पाउनुपर्ने व्यवस्था, विद्यालयको भौतिक संरचना, खानेपानी, शौचालय, खेल मैदान र पुस्तकायले निर्माण गर्नुपर्ने पत्रमा उल्लेख छ ।

यस्तै प्रत्येक महिना विद्यालयको अनुगमन गर्नुपर्ने र उत्कृष्ट शिक्षक विद्यार्थी र विद्यालय छनौट गरी पुरस्कृत गर्ने र अन्यलाई सुधारका लागि पहल बनाउनुपर्ने उल्लेख छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद सापकोटा, अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष रोजल तामाङ र विद्यालय संगठनका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।