नवनिर्वाचित जिसस मकवानपुरका प्रमुख ललितबहादुर घलानलाई बैठकको माइन्युट हस्तान्तरण गर्नुहुँदै निवर्तमान प्रमुख रघुनाथ खुलाल । तस्वीरः रामकृष्ण घोरासाइनी/समृद्ध समाज

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका नवनिर्वाचित प्रमुख ललितबहादुर घलानलाई निवर्तमान प्रमुख रघुनाथ खुलालले जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ । बिहीबार दिउँसो सम्पन्न निर्वाचनबाट निर्वाचित घलानलाई बिहीबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सपथ ग्रहण गराएर जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

समन्वय समितिका सदस्यहरुलाई सपथ गराउनुहुँदै नवनिर्वाचित प्रमुख ललितबहादुर घलान । तस्वीरः रामकृष्ण घोरासाइनी/समृद्ध समाज ।

प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले समन्वय प्रमुख घलानलाई सपथ गराउनुभयो भने समन्वय प्रमुखले उपप्रमुख र सदस्यहरुलाई सपथ गराउनुभयो । बिहीबार सम्पन्न निर्वाचनबाट सत्तारुढ दलका गठबन्धनबाट उम्मेदवार बनेकाहरु विजयी भएका थिए । जिसस उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइटेल विजयी हुनुभएको छ । महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना (१७ मत), विष्णुमाया थपलिया (१७ मत) र सुमित्रा थिङ (१७ मत) निर्वाचित हुनुभएको छ । दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियार निर्विरोध निर्वाचित हुनुभएको छ ।
खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा (१६ मत), नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी (१७ मत) र सुवर्ण गोपाली (१७ मत) विजयी हुनुभएको छ ।