नवोदय शिशु सदन सेकेन्डरी स्कूलका निर्देशक दीपेश जोशी

प्रविधिको युगपछि अहिले एकातिर अभिभावक र अर्कोतिर बालबालिका डिजिटल उपकरण तथा मोबाइलमा व्यस्त देखिन्छन् । जसले गर्दा पठन संस्कृतिको ह्रास हुने अवस्था छ । यसबेला परीक्षामुखी शिक्षण सिकाई होइन, पठन संस्कृतिलाई जोड दिन अतिरिक्त क्रियाकलापलाई पनि जोड दिनुपर्छ भन्ने मान्यता अगाडि सारिएको छ । यस सन्दर्भमा नवोदय शिशु सदन सेकेन्डरी स्कूलका निर्देशक दीपेश जोशीसँग समृद्व समाज राष्ट्रिय दैनिकका सहकर्मी डीबी बर्तौलाले गर्नुभएको कुराकानीः

समाजः विद्यालय क्षेत्रलाई विशेषगरी राम्रो बनाउन संस्थागत विद्यालयहरुको पनि हात हुन्छ । जसमा सामुदायिक विद्यालयको तुलनामा संस्थागत कसरी मकवानपुरमा पृथक बनेका छन् ?

जोशीः सामुदायिक विद्यालयले पठनपाठनलाई केन्द्रित गरेरमात्र विद्यार्थीको शिक्षण सिकाई अघि बढाइरहेको अवस्था छ । जसमा संस्थागतले पढाइसँगै बालबालिकाको सर्वाङ्गिण व्यक्तित्व विकासलाई जोड दिई अतिरिक्त क्रियाकलापदेखि भविष्यमा उपयुक्त हुने सीप तथा प्रयोगात्मक विषयमा कसरी जोड दिने भनेर कार्यक्रमहरु निर्माण गर्छौं । जसले बालबालिकालाई अघि बढ्न सहयोग हुन्छ । जसकारण पृथक देखिएको लाग्छ ।

समाजः पछिल्लो समय मकवानपुरका अभिभावकहरुको चासो नवोदय शिशु सदनप्रति बढी देखिएको पाइयो । यस सन्दर्भमा अभिभावकहरुले नवोदयलाई नै रोज्नुका कारण के हो ?

जोशीः अभिभावकहरुको इच्छा आफ्ना बालबालिकालाई राम्रो शिक्षा, दिक्षा प्रदान गरी उनीहरुको भविष्य सुनिश्चित होस् भन्ने हुन्छ । कुनै पनि अभिभावकहरुले आफ्ना छोराछोरी नपढोस् भन्ने चाहना राखेको हुँदैन । सायद हामीले गर्ने विभिन्न क्रियाकलापहरु सञ्चार माध्यमबाट जानकारी भएपछि नवोदयमा पढाएपछि बालबालिकाको सर्वाङ्गिण व्यक्तित्व विकास राम्रो हुने विश्वासले यस विद्यालयलाई रोजिएको हो जस्तो लाग्छ ।

समाजः नवोदयले सबैभन्दा बढी शैक्षिक शुल्क असुल्ने गरेको पाइएको छ । नगरपालिका र राज्यले तोकिएको मापदण्डअनुसार शुल्क लिने गरिएको छ त ?

जोशीः संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका—२०७२ अनुसार नै शुल्क लिइएको छ । सबैभन्दा बढी शिक्षकहरुको पारिश्रमिकका लागि सदुपयोग गर्छौं । शुल्कको करिब ७७ प्रतिशत शिक्षकहरुको पारिश्रमिकमा प्रयोग गरिन्छ र सामाजिक सुरक्षा कोष, सानो तहदेखि माथिल्लो तहमा सामुदायिक विद्यालयहरुको सरह पारिश्रमिक दिने गरिएको छ । शिक्षकहरुको मर्यादा र सम्मानलाई कदर गर्दै पारिश्रमिक तोकिएको छ । जसले अर्थशास्त्रको सिद्धान्तलाई अवलम्बन गरी विभिन्न क्रियाकलापको आयोजना गरी अभिभावकहरुलाई पनि संग्लन गराएर उपयोगी सहयोग शुल्क लिने गरिएको छ । जसले गर्दा नवोदयलाई अभिभावकहरुले रुचाएको हुनसक्छ ।

समाजः तपाईंहरुले लिने शुल्कअनुसार गुणस्तरीय शिक्षा दिनुभएको छ ?

जोशीः दिएको जस्तो लाग्छ । पठनपाठनदेखि लिएर विभिन्न क्रियाकलापमा आधारित शिक्षण सिकाई दिइरहेका छौं । यस्तै विभिन्न गतिविधि, मोर्डन, समारोह, नेतृत्वको क्षमता अभिवृद्विजस्ता चार वटा सीपलाई लिएर हामीले काम गर्छौं । कुनै पनि व्यक्तिलाई पछि गएर सफल हुने काम आवश्यक हुन्छ । युनेस्कोले दिएको मान्यताअनुसार अतिरिक्त क्रियाकलाप गरिएको र जसअनुसार अपेक्षाहरु पनि पूरा गरेका छौं जस्तो लाग्छ ।

समाजः खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउँदा पढाइमा कतिको बाधा पुग्छ ?

जोशीः पढाइ र सिकाईलाई कसरी लिने भन्ने कुरा हो । एउटा विद्यार्थी वादविवाद प्रतियोगितामा सहभागी हुँदा पढाइ खस्कियो भन्न मिल्छ कि वादविवादले थप ज्ञान हासिल गर्न सक्यौं भन्ने बुझाइ हुन्छ ? विद्यार्थीलाई कक्षाकोठामा राखेर एउटा टेक्स्ट, किताब पढाएर घोक्नमात्र लगाउने हो भने पढेको अर्थ हुँदैन । सरकारको पाठ्यक्रमअनुसार पुस्तकबिना शिक्षण सिकाईलाई अघि बढाइरहेका छौं । अन्य क्रियाकलापमा सहभागी गराउँदा सर्वाङ्गिण विकास हुन्छ । जसरी परीक्षामा मात्र राम्रो अंक ल्याउनेलाई मात्र राम्रो पढाइ भन्छौं, त्यसले मात्र अगाडि बढ्न र त्यसलाई मात्र पढाइ बन्न मिल्दैनजस्तो लाग्छ ।

समाजः समग्र विद्यालयहरुका समस्या हुन्छन्, तर संस्थागत विद्यालयले झेल्नु परेका समस्याहरु के के हुन् ?

जोशीः संस्थागत विद्यालयका विद्यार्थीलाई फरक दृष्टिकोणले हेरिन्छ । अतिरिक्त क्रियाकलाप सामुदायिकका विद्यार्थीको लागि मात्र तोकेर आएको हुन्छ । यस नीति तथा नियमलाई हटाउनुपर्छ जस्तो लाग्छ । त्यसबाहेक समस्याहरु आउँछन्, तर कसरी समस्याको समाधान गर्ने भन्ने कुरामा विद्यालय परिवार केन्द्रित हुनुपर्छ ।

समाजः तपाईंहरुले कफी हाउसको अवधारणा ल्याउनुभएको छ । अरु जिल्लाका विद्यालयले सञ्चालन गरेको कफी हाउसको तुलनामा तपाईंहरुले सञ्चालन गरेको काफी हाउस कस्तो हो ?

जोशीः यस कार्यक्रम बालबालिको भाषिक सीप विकास गर्न ल्याइएको हो । सुरुमा लेटर कार्यशालामा बालबालिकालाई सहभागी गराउँछौं । एक महिनासम्म बालबालिकालाई विभिन्न विषयअन्तर्गत् मन लागेका विषयमा कथा, कविता, मुक्तक, गजलजस्ता लेखन विधामा जोड दिने गरिन्छ । त्यसबाट एक महिनाबाट छानिएका विषयबाट उत्कृष्ट रचनाहरुबाट पुस्तक तयार पारिन्छ र पुस्तक विमोचन गरिन्छ भने त्यसलाई नै कफी हाउस भन्ने गरेका छौं । लेखनसीपको विकास हुन्छ, बालबालिकामा पठनसीपको पनि विकास भइरहेको हुन्छ । साथै स्टेज कार्यक्रमहरुमा आफ्ना प्रस्तुति दिन सहयोग हुन्छ । काठमाडौंलगायत विश्वविद्यालयहरुले सञ्चालन गरिरहेका कार्यक्रमहरु छन् । विभिन्न कार्यक्रममध्ये कुन विद्यार्र्थीको लागि उपयुक्त छ र राम्रो कार्यक्रम ल्याइरहेको अवस्थामा एउटा कफी हाउस पनि हो ।

समाजः शिक्षकहरुका लागि तपाईंहरुले कस्तो कार्यक्रम सञ्चालन गरिरहनु भएको छ ?
जोशीः
हामी कुनै पनि नीति तथा नियमअनुसार अध्ययन गरेर आएका होइनौं । नयाँ प्रविधिअनुसार कसरी पढाउने भन्ने कुरा रहेको हुन्छ । तालिमअनुसार यसरी पढाउन सकिन्छ भन्न मिल्छ । काम गर्ने, डिजाइनका साथ र सहयोग आवश्यक हुन्छ । आन्तरिक स्रोत तथा बाहिरबाट तालिमहरु सञ्चालन गरिरहेका छौं ।

समाजः राष्ट्रियस्तरमा ख्यातिप्राप्त साहित्यकारहरु प्रत्यक्षरुपमा छलफल गर्नसक्ने बनाइएको छ । यसको व्यवस्थापन कसरी गर्नुभएको छ ?

जोशीः सहयोगी हातहरुको कारणले नै यस्ता कार्यक्रमहरुमा विद्यार्थीलाई सहभागी गराइरहेका छौं । विद्यालय एक्लैले यस्ता कार्यक्रम सञ्चालन गर्न सम्भव छैन । विश्वविद्यालयहरुले बालसाहित्य महोत्सव भनेर कार्यक्रम सञ्चालन गरिरहँदा हाम्रो ठाउँमा बालबालिकालाई पठन संस्कृतिमा जोड दिन यस्ता कार्यक्रम किन नगर्ने भन्ने हुन्छ । त्यसमा काठमाडौंमा रहेका पब्लिसिङ हाउसहरुले हेटौंडामै रहेर साहित्य क्षेत्रमा कलम चलाइरहनु भएका व्यक्तिहरुले सहयोग गरिरहनुभएको छ । अभिभावक, विद्यालय र विद्यार्थीको संयुक्त प्रयासले पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने अवसर मिलेको छ । बालबालिकाको रचनाहरु जबसम्म प्रकाशन हुँदैन, तबसम्म लेखनमा जोड दिँदैन जसकारण लेखन सीपको विकास गर्न यस कार्यक्रमले मद्दत पुगेको छ । कोरोना महामारीको कारण करिब ३ वर्षयस्ता साहित्यिक कार्यक्रम आयोजना गर्न कठिनाई हुने गरिएको थियो, अब भने निरन्तरता दिइनेछ ।

समाजः विद्यालयले सञ्चालन गरेको विभिन्न अतिरिक्त क्रियाकलापमा अभिभावकको भूमिका कस्तो हुन्छ ?

जोशीः कार्यक्रमलाई व्यवस्थापन हुनेगरी प्रत्यक्ष तथा कुनै पनि कार्यक्रममा मुख्य प्रयोजकका रुपमा सहयोग गरिरहनु भएको हुन्छ । बालबालिकालाई अगाडि बढाउन विद्यालय, शिक्षक र अभिभावकको मुख्य भूमिका हुन्छ । कसरी अभिभावकले घरमा बालबालिकालाई पढ्ने वातावरण बनाउने, वर्षभरिमा विद्यार्थीले के पढ्छन् र कस्तो कुराहरु सिक्छन् भन्ने कुरा जानकारी गराउँछौं ।

समाजः प्रायः घरमा बालबालिकाले समय बिताउने गर्दछन् । त्यसबेला विद्यार्थी, अभिभावक र विद्यालयले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा अन्तरक्रिया हुन्छ ?

जोशीः हुन्छ, घरमा पढ्ने वातावरण कसरी तयार पार्ने भन्ने कुरा हुन्छ । यस्तै समय तालिकाअनुसार कसरी पढ्ने भन्ने कुरा क्रमबद्ध तरिकाले घरमा सूचना टाँस गर्न लगाएको हुन्छ । बालबालिकाको उमेरअनुसार आउने समस्या र व्यवहारबारे जानकारी गराउँदा त्यहीअनुसार अभिभावकहरुले व्यवहार गर्ने गरिएको पाइएको छ ।

समाजः तपाईंहरुले पठन संस्कृतिको विकास कसरी गर्नुभएको छ ?

जोशीः सबैभन्दा पहिला पुस्ताकालय निर्माणलाई जोड दिइएको छ । हाल करिब २० हजार पुस्तक पुस्ताकालयमा रहेको छ । नर्सरीदेखि ५ कक्षासम्मका लागि कक्षाकोठामै लाइबेरीको व्यवस्था गरिएको छ । त्यसबाहेक छुट्टै लाइबेरीको व्यवस्था छ । साथसाथै पठन संस्कृतिको विकासका लागि डियर, ड्रभ एभरिथिङ, कफी हाउस, अनिवार्य वर्षमा दुई वटा नेपाली र अंग्रेजी विषयको समीक्षा गरी भाषिक विकासको सीप सिक्न सकिन्छ ।

समाजः विद्यार्थीलाई उपयोगी सीप, शिक्षा र अतिरिक्त क्रियाकलापमा जोड दिन व्यवस्थापनमा कसरी लाग्नुभएको छ ?

जोशीः नेतृत्व गर्ने व्यक्तिले मेरो विद्यालय कतातिर लैजाने भन्ने कुरा जानकार हुनुपर्छ । पाँच–दश वर्षसम्म आफ्ना विद्यालय कतातिर लाने र कस्ता विद्यार्थी उत्पादन गर्ने भन्ने विषयमा जानकार नहुँदा कठिनाई हुन्छ । व्यवस्थापन समिति र शिक्षकहरुको समन्वयमा विद्यालय अघि बढाउन सकेमात्र शैक्षिक विकासमा उपलब्धीका लागि व्यवस्थापन हुन्छ ।

समाजः नमुना विद्यालय निर्माण गर्न कस्ता अवधारणा बनाइरहनु भएको छ ?

जोशीः खेलकुद क्रियाकलापलाई जोड दिन पर्याप्त स्थानको अभाव छ । आउँदो भविष्यमा सुधार गरिनेछ । समस्यासँग भाग्नेभन्दा समस्यासँग झेल्न सक्ने वातावरण सिर्जना गरेर नमुना विद्यालयको रुपमा निर्माण गरिनेछ । सिकाई कहिले सकिँदैन, सबै पोख्त हुँदैन र हुन पनि सक्दैन, जसकारण सिकाईलाई निरन्तरता दिँदै आएको छ ।

समाजः परीक्षामुखी प्रणालीले मात्र गुणस्तरीय शिक्षा हुँदैन भन्ने मान्यता तपाईंहरुको छ । यस परीक्षामुखी प्रणालीबाहेक विभिन्न अतिरिक्त क्रियाकलाप तथा कार्यक्रममा जोड दिन आगामी कस्ता योजना बनाइएको छ ?

जोशीः कार्यक्रमहरु सञ्चालन गर्न चुनौती रहेको छ । कोरोना महामारीका कारण कतिपय कार्यक्रमलाई प्रभावकारी बनाउन सकेन । पुराना कार्यक्रमलाई निरन्तरता दिन्छौं, जसलाई युनाइटेड तथा मुन कार्यक्रम भनिन्छ । बालबालिकाले विश्लेषण गर्न सक्ने मुन कार्यक्रम भदौमा सुरु गर्ने योजना छ । विद्यार्थीका समस्याहरु हुन्छन्, त्यसलाई समाधान गर्न अनुसन्धान गर्ने गरिन्छ । पहिलो पटक एसक्युसिभ हब पहिला गरिसकेको र फेरि गरिँदैछ । बुटवल र चितवनमा यस्ता कार्यक्रम सञ्चालन रहेको र त्यहाँका विद्यार्थीलाई सहभागी गराएर कार्यक्रम गर्ने र यहाँका विद्यार्थीलाई त्यहाँ लगेर कार्यतालिकाअनुसार कार्यक्रम सञ्चालन गरिनेछ । इलेक्ट्रोनिक्स, विज्ञान र प्रविधिअनुसार नै कार्य गरिरहेका छौं ।