हेटौंडाः हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको फाइनल खेल भोली सोमबार हुँदैछ । प्रतियोगिताको उपाधी हात पार्नका लागि मकवानपुरको घरेलु टोली विजय युथ क्लब र नेपाल आर्मी क्लब भिड्दैछन् ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने दुई टोली बीचको खेल दिउँसो ३ बजेर ३० मिनेटमा हुनेछ । विजय युथ क्लब समुह ‘ए’ को टोली विजेता बन्दै फाइनल प्रवेश गरेको हो भने आर्मी समुह ‘बी’ को टोली विजेता बन्दै फाइनल प्रवेश गरेको हो । विजय युथले नव जनजागृती युवा क्लब सिमरा र नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । यस्तै आर्मीले नेपाल एपिएफ र क्यामरुनी टोली एभिनियर एफसीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस अघिको तेस्रो संस्करणको मकवानपुर गोल्डकपमा आर्मी र विजय युथ बीच फाइनल भिडन्त भएको थियो । फाइनलमा आर्मी विजेता बनेको थियो भने विजय युथ उपविजेता बनेको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीले नगद २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सर्बोकृष्ट खेलाडीले रोयल इनफिल्ड बाइक प्राप्त गर्नेछन् । प्रतियोगिताको उपाधी हात पार्ने योजनासहित आफ्नो टिम मैदान उक्रने नेपाल आर्मीका प्रशिक्षक नवीन न्यौपानेले दाबी गर्नुभएको छ । घरेलु टोलीसँग खेल्न पाउँदा धेरै खुशी लागेको बताउनुहुँदै घरेलु टोलीको दर्शकको मन जितेर उपाधी हात पार्ने बताउनुभयो । उहाँले फाइनल खेलमा आफ्नो टिममा नयाँ खेलाडी थप नहुने बताउनुभयो ।
आर्मीका कप्तान भरत खवासले फाइनलसम्म पुग्दा खुशी लागेको र फाइनल खेलका लागि पुरा तयारी रहेको बताउनुभयो । घरेलु टोलीसँग खेल्दा केही असहज हुने र घरेलु टोलीलाई नै सर्मथन, हौसला मिल्ने उनको भनाई छ । कप्तान खवासले घरेलु दर्शकलाई मैदान आएर मनपर्ने टिमलाई हौसला प्रदान गरेर माया गरिदिन आग्रह गर्नुभयो । यस्तै विजय युथ क्लबका कप्तान अशोक बरालले उपाधी जित्ने गरी खेल्ने बताउनुभयो । आफुहरु भन्दा सिनियर टिमले भरिएको आर्मीसँग खेल्न भने केही असहज हुने बताउनुभयो । राम्रै मिहेनत गरेर फाइनल पुगेको र फाइनलसम्म पुग्नु पनि ठुलो कुरा रहने कप्तान बरालको भनाई छ ।
चौथौं मकवानपुर गोल्डकपको संयोजक प्रकाश विष्टको सभाध्यक्षतामा भएको प्री म्याच कन्प्रेन्समा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल लगायत जिल्ला फुटबल संघका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।