हेटौंडाः हेटौंडा–१२ स्थित ब्रम्हदेवी आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा मिलन भ्लोन सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबार विद्यालयको ४६ औं अभिभावक भेलाबाट भ्लोनलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको ब्रम्हदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक गोकुल गौतमले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा समीर बल, लक्ष्मी आचार्य, उमा अधिकारी, औतर सिंह गोले सर्वसम्मत चयन भएका छन् ।
शिक्षक प्रतिनिधिमा राधिका बनियाँ चयन हुनुभएको छ भने विद्यालय प्रधानाध्यापक सदस्य सचिव हुने व्यवस्था छ । वडाको प्रतिनिधिलाई भने मनोनयन गर्न बाँकी रहेको गौतमले जानकारी दिनुभयो । २०७७ सालमै गठन गरिसक्नुपर्ने विद्यालय व्यवस्थापन समिति कोरोना महामारीका कारण ढिला भएको बताइएको छ । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष औतर सिंह गोलको सभाध्यक्ष तथा हेटौंडा–१२ का वडाध्यक्ष ललित घलानको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो ।
वडाध्यक्ष घलानले गुणस्तरीय शिक्षालाई जोड दिँदै विद्यार्थीको संख्या बढाउन विद्यालयलाई आग्रह गर्नुभयो । ५ कक्षासम्म पढाइ हुने ब्रम्हदेवीमा एक सय ६५ जना विद्यार्थी अध्ययनरत् छन् ।