हेटौंडाः शिक्षकहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुरले १३ औँ स्थापना दिवस मनाएको छ । सहकारीले शनिबार शुभकामना आदानप्रदान तथा सहकारी शिक्षा कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो । अध्यक्ष सीताराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका पूर्व अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् प्रशिक्षक बद्रीप्रसाद लम्सालले सहकारीका सदस्यहरुलाई सामुदायिक वित्तीय शिक्षाको आवश्यकता रहेको औँल्याउनुभयो । वित्तीय नियमको अज्ञानताका कारण कतिपय सहकारीका सदस्यहरुको लगानी जोखिममा परेको भन्दै सदस्यहरुलाई वित्तीय शिक्षाको आवश्यकता औँल्याउनुभएको हो । लम्सालले शिक्षकहित बचत तथा ऋण सहकारी अब बहुद्देश्यीय संस्थाको रुपमा अघि बढ्नुपर्ने भन्दै त्यसका लागि शुभकामनासमेत व्यक्त गर्नुभयो । सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै धेरै सहकारीका लगानी अनुत्पादक क्षेत्रमा भइरहेकोले यसले वित्तीय जटिलता निम्तिने सम्भावना देखिएको उहाँको भनाइ छ ।
सहकारीका साधारण सदस्यहरु नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रिय समितिमा निर्वाचित लक्ष्मी गजुरेल र स्थानीय तह निर्वाचनमा बागमती गाउँपालिका वडा नं. ५ को सदस्य पदमा निर्वाचित खड्ग पुलामीलाई सम्मानसमेत गरेको छ । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागमती प्रदेश सचिवालय सदस्य मोहन शर्मा, राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछाने, मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहाल, नेपाल शिक्षक महासङ्घ मकवानपुरका अध्यक्ष जीधराज ढकालको उपस्थिति रहेको थियो ।