हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरिने भएको छ । गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरी विशेष कार्यक्रम सञ्चालन गर्न प्रदेश तथा संघीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गाउँपालिकाले गरेको हो ।

बुधबार बसेको राक्सिराङ गाउँपालिकाको कार्यपालिका बैठकले चेपाङ समुदायको समतामूलक, समावेशी तथा दिगो विकासका लागि संरक्षित क्षेत्र घोषणाका लागि प्रदेश सरकार तथा संघीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष मल्लको अध्यक्षमामा बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । राक्सिराङमा विपन्न तथा पिछडिएका चेपाङ जातिको बाहुल्यता रहेको छ ।

बैठकले गाउँपालिकाका अति गरिब तथा विपन्न घरपरिवारका सदस्यहरुलाई स्वास्थ्य उपचारको व्यवस्था गरी समयमै स्वास्थ्य जाँच सुविधा र सहुलियत उपचारका लागि पहुँच वृद्धि तथा अवसर सिर्जना गर्ने निर्णयसमेत गरेको छ । स्वास्थ्योपचारको व्यवस्था गर्न गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम, घरधुरी सर्वेक्षण, नेपाल सरकारद्वारा जारी गरिएको आर्थिक सर्वेक्षणसमेतका आधारमा अति गरिब तथा विपन्न परिवारको लागि नेपाल सरकारद्वारा लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रमलाई वृहत्तररुपमा वृद्धि गराई उक्त बीमाका लागि लाग्ने तोकिएको शुल्कको ७५ प्रतिशत रकम अनुदानस्वरुप गाउँपालिकाले उपलब्ध गराउने निर्णय भएको छ ।

गाउँपालिकामा वर्षेनी चट्याङजन्य घटनाबाट जनधनको क्षति हुने गरेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा चट्याङबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा रोकथामका लागि सम्पूर्ण गाउँपालिकाबासीलाई सचेत रहन अपिल गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । चट्याङको प्राविधिक अध्ययनसमेत गराई प्रत्येक घरमा चट्याङ प्रतिरोधी प्रविधि जडान गर्नका लागि अनुरोध गर्ने र सो जडान कार्यमा लाग्ने लागतमा ५ हजार रुपैयाँ प्रतिघरका दरले गाउँपालिकाबाट अनुदान उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

बैठकले जनआन्दोलन तथा सशस्त्र द्वन्द्वका क्रममा प्रभावित भएका, बेपत्ता पारिएका, शहादत प्राप्त गरेका तथा घाइते भएकाहरुको एवम् उनीहरुका आश्रित परिवारका जीविकोपार्जन तथा जीवनस्तर सुधार, रोजगारी सिर्जना एवम् आर्थिक उपार्जनमा टेवा पु¥याउन विशेष कार्यक्रमहरु अगाडि बढाउने निर्णय गरेको छ । यस्तै, गाउँपालिकाभित्र रहेका खेतीयोग्य बाँझो जग्गा जमिनको लगत संकलन गर्ने जनाइएको छ । कृषि बीमा, कृषिमा सहुलियतपूर्ण ऋण, अनुदान, मल बीउ खरिद तथा वितरणमा अनुदान, कृषक पेन्सन तथा किसान क्रेडिट कार्डजस्ता कार्यहरुका लागि व्यावसायिक कृषि खेतीसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरी आधारशीला तयार गर्ने बैठकमा निर्णय भएको छ ।

हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपका लागि गाउँपालिकाको स्रोतबाट २ लाख रुपैयाँ उपलब्ध गराउन गाउँ कार्यपालिकाको कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको छ । यस्तै, स्थानीय प्रशासन सेवाको सामान्य प्रशासन समूहको सातौं तहमा स्तरवृद्धि गरेर दरबन्दी कायम गरी राक्सिराङ गाउँपालिकाको कार्यालयमा पदस्थापना गर्ने बैठकले निर्णय गरेको छ ।