हेटौंडाः कक्षा १२ को वार्षिक परीक्षा सकिएको छ । जेठ १६ गतेदेखि सुरु भएको परीक्षा आज बुधबार सकिएको हो । मकवानपुर जिल्लामा १२ कक्षाको वार्षिक परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डको हेटौंडास्थित कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।
मकवानपुर जिल्लामा ५ हजार ३ सय ९ जना विद्यार्थीले परीक्षा फारम भरेकोमा १ सय २३ जना अनुपस्थित भएको परीक्षा बोर्डले जनाएको छ । मकवानपुर जिल्लामा १२ वटा परीक्षा केन्द्र तोकिएको थियो । परीक्षा बिहान ८ बजेदेखि सञ्चालन गरिएको थियो ।
यसैबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयलाई लिन पत्राचार गरिसकेको छ । जेठको तेस्रो सातादेखि सुरु गरेर असार दोस्रो सातासम्ममा सम्पन्न गर्न विद्यालय तथा क्याम्पसहरुलाई जानकारी गराइएको प्रमुख घिमिरेले जानकारी दिनुभयो । कक्षा ११ को आंशिक परीक्षा भने राष्ट्रिय परीक्षा बोर्डले नै जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन गर्दैछ । आंशिक परीक्षाको केन्द्र भने हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसलाई तोकेको छ ।