हेटौंडाः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अवधारणालाई आत्मसात गर्दै हेटौंडा उपमहानगर क्षेत्रका होटल व्यवसायीले पनि आफ्नो शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगका लागि खुला गरेका छन् । हेटौंडा–४, पारिजातपथस्थित होटल बासुकला एण्ड फास्ट फुडले आफ्नो शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न खुला गरेको जनाएको छ ।
होटल बासुकलाले बुधबारदेखि आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गरेको हो । सार्वजनिकरुपमा शौचालय प्रयोगका लागि खुला गर्दा सर्वसाधारणले सेवा पाउनुका साथै आफ्नो व्यवसाय समेत प्रवद्र्धन हुने काठमाडौंका मेयर बालेन्द्र साहको अवधारणा सकारात्मक लागेर आफ्नो होटलको शौचालय पनि सार्वजनिक प्रयोगका लागि खुला गरिदिएको होटल बासुकलाका सञ्चालक विकास बासुकलाको भनाइ छ ।
शौचालयको प्रयोग र सरसफाई दुबैमा आवश्यक ध्यान दिने बासुकलाको भनाइ छ । होटलले आफ्नो शौचालय सार्वजनिक प्रयोजनका लागि घोषणा गर्ने होटल बासुकला हेटौंडाको पहिलो होटल समेत हो । हेटौंडा बजारमा व्यवसायीबीच आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्ने विषयमा सकारात्मक विश्लेषण भइरहेकाले अन्य व्यवसायीले पनि खुला गर्ने अपेक्षा गरिएको छ ।