हेटौंडाः चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लबलाई पराजित गर्दै बाराको नव जनजागृति युवा क्लबले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गर्नुभयो ।
जनजागृतिले बागमतीलाई २–० गोलअन्तरले पराजित गरेको हो । खेल सुरु भएको आठौं मिनेटमै अग्रता लिएको जनजागृतिले दोस्रो हाफको ३५ औं मिनेटमा गोल गर्दै २–० को अग्रता बनाएको हो । उद्घाटन खेलको म्यान अफ द म्याच विवेक चौधरी भए । उनले नगद १० हजार रुपैयाँ पाए । उद्घाटन खेलमा विजयी बनेको जनजागृतिले क्वार्टर फाइनलमा जेठ २५ गते मकवानपुरको एफसी विजय युथको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार बीएफसी भरतपुर चर्च ब्वाइज क्लब काठमाडौंबीच खेल हुनेछ ।
१२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ । मकवानपुरका स्थानीय तहहरु मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० लाख रुपैयाँ नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि हेटौंडा स्कूल अफ म्यानेजेमन्टले बुलेट बाइक प्रयोजन गरेको छ । तेस्रो संस्करणमा पनि हेटौंडा स्कूल अफ म्यानेजमेन्टले उत्कृष्ट खेलाडीलाई बुलेट वाइक प्रायोजन गरेको थियो ।
प्रतियोगितामा ‘ए’ डिभिजन क्लब मनाङ मस्याङ्दी, खुमलटार युवा क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी बल, फ्रेण्ड्स क्लबसहित हेटौंडाको एफसी विजय युथ, बागमती युवा क्लब, नव जनजागृति युवा क्लब, बीएफसी चितवन र चर्चव्वाईज क्लबको सहभागिता रहँदा अन्तर्राष्ट्रिय टिमको रुपमा क्यामरुनको एनिनियर एफसीको पनि सहभागिता रहनेछ । करिब १ करोड १८ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ प्राप्त गर्दा म्यान अफ द म्याचले १० हजार रुपैयाँ नगद पाउनेछ ।











