हेटौंडाः लोकसेवा आयोग र यातायात व्यवस्था कार्यालयले लिएको परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान हेटौंडा–१ स्थित एक विद्यालयमा सञ्चालन भएको लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने कास्की जिल्लाको पोखरा महानगरपालिका–२ का ४२ बर्षीय दिपेन्द्रप्रसाद बास्ताकोटी र यातायात व्यवस्था कार्यालयले बिहीबार दिउँसो लिएको मोटरसाइकलको सवारी चालक अनुमती पत्रका लागि परीक्षा दिने मकवानपुरको बकैया गाउँपालिका–७ का २० बर्षीय सन्तोष गौतम पक्राउ परेका हुन् ।
बास्ताकोटीले महोत्तरी जिल्लाको साविक पोखभिण्डा गाविसका अभय कुमार यादवको ठाउँमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा परीक्षा केन्द्राध्यक्षले थाहा पाएपछि प्रहरीलाई खबर प्राप्त भएको बताइएको छ । बास्ताकोटीको झोलामा नगद ५८ हजार ५ सय रुपैयाँसहित अभय कुमार यादवको नागरिकता पनि बरामद भएको छ । यस्तै बास्ताकोटीको झोलामा महोत्तरीका सुजित कुमार साह, धनुषा जिल्लाका हीरा कुमारी, विनोद कुमार महतोको नागरिकता पनि बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै बिहीबार नै हेटौंडा–११ स्थित यातायात व्यवस्था कार्यालय हेटौंडाले लिइरहेको मोटरसाईकलको सवारी चालक अनुमतीपत्रको परीक्षामा मकवानपुरको बकैया गाउँपालिका–७ का टुकनाथ गौतमको ठाउँमा नक्कली परिक्षार्थी बनेका टुकनाथकै छोरा २० बर्षीय सन्तोष गौतमलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली परीक्षार्थी बन्ने बास्ताकोटी र गौतम दुबैलाई प्रहरीले हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।











