सगरमाथा चुचुरोमा मकवानपुरको बकैयाका बिक्रम कार्की ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–४, गरगरेकाका विक्रम कार्कीले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । काठमाडौंमा रहेर पर्यटन व्यवसाय गर्दै आउनुभएका ३३ बर्षीय कार्की सगरमाथा आरोहण गर्ने मकवानपुर जिल्लाकै पहिलो व्यक्ति हुनुभएको छ । गत शनिबार बिहान ११ बजेर २२ मिनेटको समयमा कार्कीले सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको हो ।

सन् २०१४ मा खुम्बुक्षेत्रको आइल्याण्ड हिमाल आरोहण गर्नुभएका कार्कीसहित ७ जनाको समूहले शनिबार सगरमाथा आरोहण गरेर सोमबार सगरमाथा आधारशिविर आइपुगेका छन् । कार्कीको सफलतालाई लिएर बकैयावासीले खुसी व्यक्त गरेका छन् । बकैया गाउँपालिकास्थित महेन्द्र माविबाट एसएसली उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगेका कार्की अध्ययनसँगै पर्यटन व्यवसायमा सक्रिय रहेको कार्कीका छिमेकी बकैया–४, गरगरेका सुमन खनालले जानकारी दिनुभयो । कार्कीको सफलताले बकैयावासीमा हौसला मिलेको खनालको भनाइ छ ।

जेठ ३ गते आधारशिविरबाट कार्कीसहित ७ जनाको समूह सगरमाथा आरोहण सुरु गरेका थिए । एपेक्स हिमालयन ट्रेक्स एण्ड एक्स्पीडिसन प्रालिका सञ्चालक समेत रहनुभएका कार्कीसहित १० जनाको समूह जेठ २ गते नै सगरमाथाको चचुरोमा पुग्ने गरी आरोहण सुरु गरेका थिए । आरोहणको क्रममा क्याम्प २ मा पुग्दा गुल्मीका दीपक महतको मृत्यु भएपछि फर्कनु परेको कार्कीको भनाई छ । फर्किएर महतको शव काठमाडौं पुर्‍याएर अन्तिम संस्कारपछि दोस्रो चरणमा भने ७ जना मात्रै आरोहणमा सहभागी थिए । आरोहणमा एकजना भारतीय आरोही पनि सहभागी थिए ।