हेटौंडा उपमहानगरपालिकाकी मेयर लामाले १९ वटै वडाध्यक्षलाई सपथ ग्रहण गराउँदै ।

हेटौंडाः हेटोंडा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् । आज सोमबार बिहान एक कार्यक्रमका बीच नवनिर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मिना कुमारी लामालाई मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नवनिर्वाचित मेयर लामाले हेटौंडालाई ५ वर्षे कार्यकालमा समृद्ध बनाउने बताउनुभयो । उहाँले प्रतिपक्षी दलहरुले सार्वजनिक गरेको घोषणा पत्रलाई केलाई त्यसलाई समेट्ने बताउनुभयो । उहाँले अहिले निर्वाचनमा पराजित भएका प्रतिनिधिहरुलाई खुसी पार्नेगरी काम गर्ने बताउनुभयो । हेटौंडालाई समृद्ध बनाउन सबै तहका प्रतिनिधिहरुले आ–आफ्नो जिम्मेवारीका आधारमा निष्पक्ष ढङ्गबाट काम गर्नुपर्ने बताउनुभयो ।

मेयर लामाले नवनिर्वाचित उपमेयर राजेश बानियाँलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको छ । कार्यक्रममा मेयर लामाले हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका वडाध्यक्षहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपाने, २ का वडाध्यक्ष विष्णु गोपाल महर्जन, २ का वडाध्यक्ष ढलक बहादुर थापा, ४ का वडाध्यक्ष नविन सिग्देल, ५ का वडाध्यक्ष सुशिल घिमिरे, ६ का वडाध्यक्ष विष्णु बहादुर दाहाल, ७ का वडाध्यक्ष दामोदर गौतम, ८ का वडाध्यक्ष राम थापा, ९ का वडाध्यक्ष सुकराम केसी, १० का वडाध्यक्ष फुर्वादोर्जे लामाले पद तथा गोपनीयताको सपथ लिएका छन् । यस्तै, ११ का वडाध्यक्ष जुना दाहाल, १२ का वडाध्यक्ष ललित घलान, १३ का वडाध्यक्ष पेम्बा लामा, १४ का वडाध्यक्ष दीपक खड्का, १५ का वडाध्यक्ष सुनिल मोक्तान, १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, १७ का वडाध्यक्ष उद्धव सत्याल, १८ का अनिल बानियाँ र १९ का वडाध्यक्ष नरनाथ सुवेदीले पद तथा गोपनीयताको सपथ लिएका छन् । यस्तै, मेयर लामाले १९ वटै वडाका नवनिर्वाचित वडासदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको छ ।

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बागमती प्रदेश सभा सदस्य प्रेम पुलामी, मुनु सिग्देल, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नेपाली काङ्ग्रेस जिल्ला सभापति बुद्ध लामा, हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरि बहादुर महत लगायतको आतिथ्यता रहेको थियो ।