बागमति गाउँपालिकाको अध्यक्षमा निर्वाचित सर्केश घलान ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा मतगणना सकिएको छ । बागमती गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले आज शुक्रबार पालिकाको ९ वटै वडाको मत सार्वजनिक गरेसँगै पालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुको टुङ्गो लागेको छ ।

सार्वजनिक मत परिणाम अनुसार बागमती गाउँपालिकाकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार दिएका माओवादी केन्द्रका सर्केश घलान विजयी हुनुभएको छ । ७ हजार ३ सय ८४ मत प्राप्त गरी घलान दोस्रो कार्यकालको लागि निर्वाचित हुनु भएको हो । गाउँपालिकाको अर्का अध्यक्षका प्रत्यासी नेकपा एमालेका खेम जर्गा मगरले ६ हजार १ सय ६६ मत प्राप्त गर्नुभएको छ । घलानले जर्गालार्ई १ हजार २ सय १८ मतान्तरले पराजित गर्नुभएको हो ।

यस्तै पालिकाको उपाध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार दिएका नेपाली काङ्ग्रेसका फणिन्द्र तिमल्सिना विजयी हुनु भएको छ । तिमल्सिना ७ हजार ९ सय ३५ मतसहित पालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्ष पदका प्रत्यासी नेकपा एमालेकी धन माया स्याङ्तानले ४ हजार ६ सय ६९ मत प्राप्त गर्नुभएको छ । स्याङ्तान २०७४ सालको स्थानीय तहको निर्वाचनबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

पालिकाका वडाहरुमा नेकपा माओवादी केन्द्रले ५ वटा वडाध्यक्ष पद जितेको छ । वडा १ देखि ५ सम्म माओवादी केन्द्रका तर्फबाट उम्मेदवारहरु वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर १ मा यहुन्ना राई, २ मा जनक पहरी, ३ मा कमान सिं पाख्रिन, ४ मा दन्तललाल माझी र ५ नम्बर वडामा माओवादीे केन्द्रका तर्फबाट उम्मेदवार बिजय कुमार भोलन वडाध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै नेकपा एमालेले ६ नम्बर, ८ नम्बर र ९ नम्बर वडामा वडाध्यक्ष पद जितेको छ । वडा नम्बर ६ मा टेक बहादुर डिमडुङ, ८ मा इन्द्रमणि तिमल्सिना र ९ मा पुनराम घलान निर्वाचित भएका छन् । यस्तै नेपाली काङ्ग्रेसले ७ नम्बर वडामा मात्र वडाध्यक्ष पद जितेको छ । पालिकामा १५ हजार ७ सय ४७ मत खसेको थियो ।