स्वागत तथा सम्मान कार्यक्रम ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ स्थित महिला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २३औं स्थापना दिवसको अवसरमा संस्थापकलाई सम्मान गरेको छ । २४ जना संस्थापक सदस्य र ७ जना संस्थापक संचालक समिति सदस्य गरी ३१ जनालाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

कार्यक्रममा सहकारीकी अध्यक्ष देवकी चौलागाईले ९४ जना सदस्यबाट सुरु भएको सहकारीमा १ हजार २ सय ५२ सदस्य बनाउन सफल भएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा शेयर वृद्धि गरेर कारोबार फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष मिना चौरेलले वित्तीय कारोबार गर्ने अन्य संस्थाभन्दा सहकारीमा कारोबार बढाउनु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा स्वरोजगार साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष धन कुमारी खड्का, निवर्तमान अध्यक्ष सुलोचना स्याङ्तान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।