प्रतिभा डंगोल, प्रिन्सीपल कमाने एकेडेमी

हेटौंडा–८, कमानेस्थित कमाने एकेडेमीले छोटो समयमै अभिभावक र समुदायको मन जित्न सफल भएको छ । शिक्षकलाई सीपयुक्त, दक्ष बनाउँदै विद्यार्थीलाई क्रियाकलापमा आधारित भएर प्रभावकारी शिक्षण अभ्यास गरेका कारण कमाने एकेडेमीप्रति अभिभावक र समुदायको ध्यान तानिरहेको छ । विद्यालयले छोटो फुर्सदको समयमा पनि शिक्षकको क्षमता विकास, विद्यार्थीका लागि प्रभावकारी शिक्षण विधि र प्रक्रियाका बारेमा मिहिनेत गरिरहेको हुन्छ । शिक्षण र सिकाईका सन्दर्भमा कमाने एकेडेमीकी प्रिन्सीपल प्रतिभा डंगोलसँग समृद्ध समाज दैनिकका लागि डीबी बर्तौलाले गर्नुभएको कुराकानीः

समाजः तपाईंले शिक्षकहरुलाई आफ्नो पेसाप्रति अगाडि बढ्न के कस्ता कार्यहरु गर्नुभयो ?
डंगोलः हामीले हाम्रो स्कूललाई सिकाई समुदाय भनेर भन्छौं । हामीचाहिँ विद्यार्थीले मात्र होइन, समग्र विद्यालयले नै सिक्नुपर्छ भनेर भन्छौं । सिकाउनका लागि हामीले बाहिरबाट मान्छे बोलाउँछौं । यसवर्ष पनि बाहिरबाट कन्सल्टेन्ट बोलाएका थियौं । कन्सल्टेन्ट बोलाएर प्रशिक्षण दिने आफ्नो ठाउँमा छँदैछ, हामीलाई जानकारी भएको जति तालिमहरुमा भ्याएसम्म हामीले हाम्रो शिक्षकशिक्षिकाहरुलाई पठाउने गरेका छौं । त्यसबाहेक शिक्षकशिक्षिकाहरुले आफैंले एकआपसमा सिक्ने वातावरण बनाउन अनुभव आदनप्रदान गर्ने र हरेक कुराहरुमा योजनाहरु बनाउँदा अलि सकरात्मक योजनाहरु बनाउने, कक्षाकोठामा आएका समस्याहरुको बारेमा छलफल गर्ने खालको हाम्रो स्कूलको सिस्टम तयार गरेका छौं ।

समाजः विद्यालयको गतिबिधि के कस्तो तरिकाले अघि बढिरहेको छ ?
डंगोलः सानो कक्षाहरुमा हामी धेरै सफल भइसकेका छौं । माथिल्लो कक्षाहरुमा हामी केहि हदसम्म व्यवहारिक बनेर विद्यार्थीहरुले आफैं गरेर सिक्ने वातावरण निर्माण गर्दैछौं । त्यसमा हामी काम गरिरहेका छौं । तर माथिल्लो कक्षाहरुमा केहि हदसम्म परम्परागत शिक्षण प्रणालीलाई अहिलेसम्म हामीले निरन्तरता दिनुपर्ने बाध्यात्मक अवस्थाहरु पनि छ ।

समाजः विद्यार्थीहरु भयरहित स्वतन्त्र हुँदै गर्दा अलिकति छाडा पनि भएको हो कि भन्ने अनुभूति पाइन्छ, यसमा तपाईंको धारणा के छ ?
डंगोलः मलाई यो कुरा पहिलेदेखि नै शिक्षकहरुका लागि अलिकति अन्यायपूर्ण हो भन्ने लागिरहेको छ । भयरहित शिक्षा भनिएको छ, तर भयरहित शिक्षा कहिले र कुन हिसाबले गर्ने हो भन्ने कुरामा शिक्षकहरुलाई त्यति तयार गरिएको छैन । भयरहित भनेको बालबालिकालाई पूर्णरुपमा गैरजिम्मेवार बनाउने भन्नेचाहिँ होइन । भयरहित शिक्षा भनेको भयलाई के ले रिप्लेस गर्नुपर्‍यो भन्दा जिम्मेवारीपनाले । बालबालिकालाई जिम्मेवार बनाउनु पर्‍यो ।

समाजः तपाईंले कस्तो कस्तो अवस्थाबाट अरुभन्दा कमाने एकेडेमीलाई पृथक बनाउने सोचाई राख्नुभएको छ ?
डंगोलः हामीचाहिँ के विश्वास गर्छौं भन्दा अभिभावकसँगको सहकार्य एक नम्बरमा पर्दछ । यो एकदमै महत्वपूर्ण सहकार्यात्मक हिसाबले काम गर्नुपर्छ । शिक्षकहरुलाई पनि हामीले सचेत गरेका छौं । प्रत्येक हप्ता कम्तीमा पनि दुईजना अभिभावक बोलाएर मिटिङ बस्नुपर्छ । मिटिङबाट अभिभावकहरु घर फर्किंदा आशावादी भएर जानुपर्छ । अभिभावकलाई हामीले बोलाउने भनेको कम्प्लेन गर्न होइन । अनि अभिभावकसँग टिचरको अपेक्षा के छ स्पष्ट भन्नुपर्‍यो । कोरोनाका कारणले गर्दा यो वर्ष हामीले सबै विद्यार्थीलाई अपग्रेड गर्‍यौं । कोरोनाले गर्दा हामी विद्यार्थीसँग बस्नै पाएनौं । कति विद्यार्थी अनलाइन क्लासमै नबसिदिने कारणले २०७९ साल हाम्रो लागि एकदमै चुनौतीपूर्ण छ । अब हाम्रो मेन फोकस भनेको जुन पछाडि परेको, संघर्ष गरिरहेको विद्यार्थीहरु छन्, ती विद्यार्थीहरुसँग हामीले कसरी काम गर्ने भनेर हामी शिक्षकहरु सबै बसेर एउटा फरम्याट बनाएर प्रत्येक विद्यार्थीको सिकाई आवश्यकता के हो भनेर बुझेर त्यसमा हामी काम गरिरहेका छौं ।

समाजः तपाईंले आफ्ना शिक्षकहरुलाई के कसरी म्यानेज गरिरहनु भएको छ ?
डंगोलः शिक्षकहरुले जति योगदान दिइरहनु भएको छ, त्यो अनुसारको पारिश्रमिक उहाँहरुले पाइरहनु भएको छैन, यो कुरा म स्वीकार्छु । तपाईं हामी सबै मिलेर तीन वर्षमा टिचरहरुलाई मार्केट कम्पिटेटिभ स्यालेरी दिने स्कूल बनाउनु पर्छ भन्ने हिसाबले मैले कुरा गरिरहेको हुन्छु । शिक्षकहरुले सबैभन्दा पहिला आफ्नो कामको आफैंले ईज्जत गर्नुपर्‍यो, त्यहिअनुुसारले म टिचरहरुसँग कुराकानी गर्ने गर्छु ।