स्थानीय तहसँग सर्जकको अपेक्षा विषयक बहसमा सहभागी साहित्यकारहरु ।

हेटौंडाः स्थानीय तहको निर्वाचनका उम्मेदवारहरु मत माग्न मतदाताको घरदैलोमा व्यस्त भइरहँदा शनिबार साहित्य संगमको सभाकक्षमा साहित्यकारहरु जनप्रतिनिधिको भूमिकाका विषयमा चर्चा गरिरहेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचितले भाषा, साहित्यको पाटोलाई बुझ्नै नसकेको, बुझ्नै नचाहेको उल्लेख गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाहरुले पनि भाषा र साहित्यको क्षेत्रका बारेमा बुझ्न नखोजेको गुनासो साहित्यकारहरुले गरेका छन् ।

झरना साहित्यिक परिवार मकवानपुरको आयोेजनामा स्थानीय तहसँग सर्जकको अपेक्षा विषयमा बहसकै आयोजना गरिएको थियो । साहित्यकार मसान उपासकले सहजीकरण गर्नुभएको बहसमा सर्जक सञ्जाल मकवानपुरका संयोेजक निमेष निखिल, मातृभूति साहित्य समाजका अध्यक्ष माधव पोख्रेल र साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने वक्ताको रुपमा सहभागी हुनुहुन्थ्यो ।

बहसमा सहभागी सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले भाषा, साहित्यको विषयमा के कस्ता काम गर्नुपर्छ भनेर जनप्रतिनिधिले बोलाएरै सोध्ने र आवश्यक योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो । व्यक्तिगत सम्बन्ध, राजनीतिक या अन्य कुनै आधारमा गरिने सीमित कार्यले भाषा, साहित्यको विकासमा योगदान नगर्ने उहाँको भनाइ थियो ।

साहित्यिक संघ, संस्थाका पदाधिकारीलाई बोलाएर स्थानीय सरकारले योजना बनाउनुपर्ने मातृभूति साहित्य समाजका अध्यक्ष माधव पोख्रेलको भनाइ थियो । जनप्रतिनिधिले भाषा, साहित्यको महत्वलाई बुझ्नै नसकेको पोख्रेलले आरोप लगाउनुभयो । उहाँले जनप्रतिनिधिले भाषा, साहित्य क्षेत्रका व्यक्तिलाई बोलाएर के गर्न सकिन्छ ? के गर्नुपर्छ ? भनेर सोधीखोजी गर्नुपर्ने बताउनुभयो ।

साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेले एउटा गीत बनाउन पालिकाले ५ लाख रुपैयाँसम्म खर्च गरेको उल्लेख गनुहुँदै भाषा र साहित्यमा भने लगानी नगरेको बताउनुभयो । साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष आरसी रिजालले भने स्थानीय सरकार, जनप्रतिनिधिले बोलाएनन् भनेर चुप लागेर नबसी झक्झक्याउन जानुपर्ने बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाले पुस्तकालय सञ्चालनका लागि साहित्य संगममार्फत नै सहयोग गरिरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा साहित्यकार एस के निधनले चुनावका बेला उम्मेदवारको उपस्थिति बिना नै कार्यक्रम गर्नुको औचित्य नभएको बताउनुभयो । बहसकर्ताले साहित्यकारहरु पनि स्थानीय निर्वाचनमा सहभागी भइरहेको उल्लेख गर्दै साहित्यकार नै जनप्रतिनिधि निर्वाचित भए साहित्यको क्षेत्रमा उल्लेखनीय कार्य हुने अपेक्षा गरेका थिए । हेटौंडा–५ मा साहित्यकार ह्यग्रीव आचार्य वडा अध्यक्षको उम्मेदवार बन्नु भएको छ ।