हेटौंडाः आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भोली मंगलबारबाट निर्वाचन मौन अवधि सुरु हुँदैछ । मंगलबार राति १२ बजेदेखि निर्वाचन मौन अवधि सुरु हुने निर्वाचन आयोग बागमती प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो ।
निर्वाचन मौन अवधि घोषणा भइसकेपछि राजनीतिक दलको नेता कार्यकर्ताहरुले कुनै खालको प्रचारप्रसारका कार्य, आमसभा, र्याली, जनतालाई प्रलोभन पार्ने खालको कार्यहरु गर्न पाइने छैन । यस्तै नेता कार्यकर्ताले घरदैलो अभियान जस्ता कार्य गर्न पाउने छैनन् । यस अवधिमा निर्वाचन आयोगले मतदान केन्द्रमा बुथ निर्माण, मतपेटिका व्यवस्थानका कार्यहरु गर्ने पोखरेलले बताउनुभयो ।
स्थानीय तह निर्वाचनमा धेरै मतपत्र बदर हुने अनुमान गरिएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गर्न नपाउँदा मतपत्र बदर हुने सम्भावना रहेको पोखरेलले बताउनुभयो । यसअघिको निर्वाचनमा पर्याप्त समय भएको र मतदाता शिक्षाका लागि कर्मचारीहरु घरमा खटिएको थियो । तर, यो वर्ष भने छोटो समयमा निर्वाचन गर्नुपरेकोले त्यो सम्भव नभएको उहाँले बताउनुभयो । यस वर्ष मिडियाका मार्फत मतदाता शिक्षाका बारेमा समचार, सुचना प्रकाशन र प्रसारण गराएको उहाँले बताउनुभयो । अहिले मकवानपुर जिल्लाका सबै जसो क्षेत्रमा इन्टरनेट सेवा रहेकाले मिडियामार्फत प्रकाशन वा प्रसारण गरिएको समाचार र सुचनाले प्रभाव पर्ने उहाँको भनाइ छ । उहाँले मतपत्र बदर हुन नदिन मतदाता आफै सचेत र जानकार हुनुपर्ने धारणा राख्नुभयो । मतपत्र बदर हुन नदिन राजनीतिक दलहरुको पनि भुमिका रहने उहाँले बताउनुभयो ।
निर्वाचन आयोगको काम निष्पक्ष, भयरहित ढङ्गबाट निर्वाचन कार्यलाई सफल र सम्पन्न गराउन काम गरिरहेको उहाँले बताउनुभयो । जिल्लामा निर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भएको उहाँको भनाइ छ । यस अघि मकवानपुरमा ३ लाख २५ हजार मतपत्र आइसकेको छ । जिल्लाका ३ सय ५६ मतदान केन्द्रमा सबै निर्वाचन सामग्री पठाउने तयारी भइसकेको पोखरेलले बताउनुभयो । मतपत्र, मतपेटीका जस्ता निर्वाचन सामग्री पठाउने तयारी भइसकेको उहाँले बताउनुभयो । मतदानमा सहभागी हुन मतदाता परिचय पत्र सबै मतदान केन्द्रमा पठाएको र २८ र २९ गते वितरण गरिने उहाँले बताउनुभयो । निर्वाचनमा मकवानपुरमा झन्डै ३ लाख मतदाताले मतदान गर्नेछन् ।











