Home मुख्य समाचार भोली रातिदेखि मौन अवधि सुरु हुने

भोली रातिदेखि मौन अवधि सुरु हुने

हेटौंडाः आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भोली मंगलबारबाट निर्वाचन मौन अवधि सुरु हुँदैछ । मंगलबार राति १२ बजेदेखि निर्वाचन मौन अवधि सुरु हुने निर्वाचन आयोग बागमती प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो ।

निर्वाचन मौन अवधि घोषणा भइसकेपछि राजनीतिक दलको नेता कार्यकर्ताहरुले कुनै खालको प्रचारप्रसारका कार्य, आमसभा, र्‍याली, जनतालाई प्रलोभन पार्ने खालको कार्यहरु गर्न पाइने छैन । यस्तै नेता कार्यकर्ताले घरदैलो अभियान जस्ता कार्य गर्न पाउने छैनन् । यस अवधिमा निर्वाचन आयोगले मतदान केन्द्रमा बुथ निर्माण, मतपेटिका व्यवस्थानका कार्यहरु गर्ने पोखरेलले बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा धेरै मतपत्र बदर हुने अनुमान गरिएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गर्न नपाउँदा मतपत्र बदर हुने सम्भावना रहेको पोखरेलले बताउनुभयो । यसअघिको निर्वाचनमा पर्याप्त समय भएको र मतदाता शिक्षाका लागि कर्मचारीहरु घरमा खटिएको थियो । तर, यो वर्ष भने छोटो समयमा निर्वाचन गर्नुपरेकोले त्यो सम्भव नभएको उहाँले बताउनुभयो । यस वर्ष मिडियाका मार्फत मतदाता शिक्षाका बारेमा समचार, सुचना प्रकाशन र प्रसारण गराएको उहाँले बताउनुभयो । अहिले मकवानपुर जिल्लाका सबै जसो क्षेत्रमा इन्टरनेट सेवा रहेकाले मिडियामार्फत प्रकाशन वा प्रसारण गरिएको समाचार र सुचनाले प्रभाव पर्ने उहाँको भनाइ छ । उहाँले मतपत्र बदर हुन नदिन मतदाता आफै सचेत र जानकार हुनुपर्ने धारणा राख्नुभयो । मतपत्र बदर हुन नदिन राजनीतिक दलहरुको पनि भुमिका रहने उहाँले बताउनुभयो ।

निर्वाचन आयोगको काम निष्पक्ष, भयरहित ढङ्गबाट निर्वाचन कार्यलाई सफल र सम्पन्न गराउन काम गरिरहेको उहाँले बताउनुभयो । जिल्लामा निर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भएको उहाँको भनाइ छ । यस अघि मकवानपुरमा ३ लाख २५ हजार मतपत्र आइसकेको छ । जिल्लाका ३ सय ५६ मतदान केन्द्रमा सबै निर्वाचन सामग्री पठाउने तयारी भइसकेको पोखरेलले बताउनुभयो । मतपत्र, मतपेटीका जस्ता निर्वाचन सामग्री पठाउने तयारी भइसकेको उहाँले बताउनुभयो । मतदानमा सहभागी हुन मतदाता परिचय पत्र सबै मतदान केन्द्रमा पठाएको र २८ र २९ गते वितरण गरिने उहाँले बताउनुभयो । निर्वाचनमा मकवानपुरमा झन्डै ३ लाख मतदाताले मतदान गर्नेछन् ।

Exit mobile version