राजकुमार लामिछाने हेटौँडा–४

–राजकुमार लामिछाने हेटौंडा

आदरणीय जनसमुदायहरू !!
पार्टीको महत्त्वपूर्ण स्थानमा आफ्ना मान्छे भएकोले हामीले रोजेका र पार्टीले खोजेका उम्मेदवारहरूलाई टिकट पाउन कुनै विकट भएन । हाम्रो भन्दा पनि राम्रो मान्छेले टिकट पाएको छ ।

पार्टीले दिएको जिम्मेवारीलाई इमानदारी साथ बहन गर्न र बिजय सुनिश्चित गर्न हामीहरू हजुरहरूको घरदैलोमा भैलो खेल्ने आएका छौ । हाम्रो मनलाई हजुरहरूले मैलो पार्नु हुन्न भन्ने कुरामा हामी पूर्ण विस्वस्त छौ ।

आदरणीय बा, आमा, दाजुभाइ, दिदीबहिनीहरू !!!
उम्रिदै तीन पातेू भने झैँ-; गम पार्टी, बम पार्टी , मम पार्टी, रम पार्टी, ढ्याङ्गो पार्टी, च्याङ्गो पार्टी, मट्याङ्गो पाटी, रोड पार्टी,करोड पार्टी, टारी पाटी,हावादारी पार्टी, हाउस पार्टी, माउस पार्टी, परिवार पार्टी, मल पार्टी, जल पार्टी,ढल पार्टी, टिके पार्टी, सुके पार्टी, फुके पार्टी, अंकुसे पार्टी, च्याखे पार्टी, माखे पार्टी, साङ्ले पार्टी, नाङ्ले पार्टी ,बागी पार्टी,मागी पार्टी ।।। कति हो कति! यस्ता च्याउ सरीका उम्रेका पार्टीहरू म्याउ गर्दै हजुरकोमा आउन र अनेक आश्वासन बर्साउन सक्छन् । ती पार्टीहरूबाट होसियार रहनु होला ।

तपाईंहरूलाई खुलदुली लाग्न सक्छ ! हाम्रो अलपत्र पार्टीलाई नै भोट किन ? हजुरहरूको तर्कसंग हामी पूर्ण सहमत छौ। हजुरहरूको जिज्ञासालाई सम्मान गर्दै हाम्रो अलपत्र पार्टीलाई नै भोट किनरु भन्ने सन्दर्भमा पार्टीको घोषणापत्र यहाँहरू समक्ष राख्न चाहान्छौ। घोषणापत्र यसप्रकार रहेको छः

१. तपाईंको शीर झुक्न दिने छैनौं । सधैं ठड्याउने गरि काम गर्ने छौं । यदि घाटीको समस्याले हजुरहरूको शीर निहुँरिन गएमा अड्याउनको लागि टेको वितरण गर्नेछौ ।
२. वेरोजगारी समस्या हल गर्न निशुल्क मोवाइल र वाइफाइको ब्यवस्था गरिनेछ ।
३. भोकमरी समस्याका हकमा बेलुका पेटमा अन्न नपरेका कारण बिहान कन्नु पर्ने नागरिकहरूका हकमा मध्येनजर गर्दै त्यस्ता घर परिवारलाई प्रतिमहिना एक किलोका दरले सातु वितरण गरिनेछ ।
४. आफ्नै खुट्टामा उभिने प्रयास गर्न सबैलाई पटकपटक अनुरोध गर्दा पनि नमानी कहिले गाडीमा, कहिले मोटरसाइकलमा र कहिले साइकलमा जहाँ पायो त्यहीँ, जसरी पायो त्यसरी उभिने गरेको हुँदा अब त्यस्ता नागरिकलाई सचेत गराउँदै जसरी भए पनि आफ्नै खुट्टामा उभ्याउने अभियानलाई जोड दिइनेछ।
५. तपाईंको बालबच्चालाई पढेसम्म पढाउने र नपढे खाडी मुलुकतर्फ अघिबढाउने कार्यलाई निरन्तरता दिइनेछ ।
६. बढ्दै गएको लुटपाट र कमजोर सुरक्षालाई मध्ये नजर राखी घरघरमा गुलेलीको प्रबन्ध मिलाइनेछ ।
७. मितव्ययितालाई मध्ये नजर राख्दै पुराना कपडा नफाल्न, नच्यात्न सचेतना मूलक कार्यक्रम गाउँगाउँसम्म पुर्याइने छ । उध्रेको ठाउँमा सिलाउन र टालटुल पारेर मिलाउन कैची, सियो धागो घरमै उपलब्ध गराइनेछ ।
८. खेतीपाती खासै जाती नभएकोले प्लटिङको व्यापक विस्तार गरिने छ । सकेसम्म गाउँका कुना कन्दरा सबैतिर प्लटिङको लागि अनुमति दिइनेछ।
९. नेपालबाटै विश्व छर्लङ्ग देखिने भ्यूटावरहरूको निर्माण गरिने छ । उक्त टावरहबाट शोषित, पीडित, गरिबहरूको अवस्था हेर्न सहज हुनेछ ।
१०. सडक सधैं नयाँ राख्न बनाउने र तुरुन्तै बिगार्ने बैज्ञानिक पद्धतिलाई कायमै राखिनेछ ।
११. सुशासन कायम राख्न महत्त्वपूर्ण पदमा सकभर आफ्नै छोरा, छोरी, बुहारी, श्रीमती, साला, साली, सम्धी, संधिनी र नातागोताहरूलाई मनोनयन वा नियुक्ति गरिनेछ ।
१२. गाउँ घरमा प्रचलित गाली संस्कृति लोप हुँदै जान लागेको तथ्यलाई मनन गरी सो सस्कारलाई जीवन्त राख्न अब पाठ्यक्रममा समेत गालीसंस्कृति सम्बन्धी पुस्तकहरू समावेश गरिनेछ ।
१३. भ्रष्टाचारको गन्धलाई सकभर मुहानबाट बन्द गरिने छ । कदम कदाचित चुहिएर गनायो भने त्यसलाई बास्नादार बनाउन सो कार्यमा संलग्न सबैलाई अत्तर उपलब्ध गराइने छ ।
१४. स्वास्थलाई मध्येनजर राखी घरघरमा सिटामोल र धेरै गोलगर्ने खेलाडीलाई फूटबलको ब्यवस्था गरिनेछ ।
१५. उल्लिखित कुराहरूको ग्यारेन्टीका लागि चुनाव चिन्ह लंगुर मा मतदान गरि अलपत्र पार्टीका उम्मेदवारहरूलाई डंगुर मतले विजयी गराऔं ।

अलपत्र पार्टी, सबैको जाति

ढाट्ढुट चुनाव प्रचारप्रसार समिति
मिलिजुली जिल्ला, खामबजार