पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रवक्ता अर्जुनप्रसाद चौलागाई ।

हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धी दलका उम्मेदवारको प्रचार गर्ने आफ्ना क्रियाशील सदस्यलाई नेपाली कांग्रेस मकवानपुरले कारवाही गर्ने भएको छ । मेयर पद कांग्रेसले नपाएपछि कांग्रेसको एउटा समूह असन्तुष्ट बनेको छ । प्रतिस्पर्धी पार्टीको उम्मेदवारको सामाजिक सञ्जालमा प्रचारप्रसार गरिरहेको पाइएको भन्दै त्यस्तो कार्य बन्द गर्न चेतावनी दिँदै प्रचारप्रसार नगरे विधानअनुसार कारवाही गर्ने कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईले बताउनुभएको छ ।

शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेस मकवानपुरका प्रवक्ता चौलागाईले कांग्रेसका बागी उम्मेदवारलाई पनि पार्टीको आधिकारिक उम्मेदवार र गठबन्धनको उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिइएको बताउनुभयो । पार्टीको नीति, निर्देशनविपरित कार्य गरे अनुशासन समितिले कारवाही गर्ने नेपाली कांग्रेस मकवानपुर जिल्ला अनुशासन समितिका संयोजक प्रभातकुमार दाहालले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतको पनि उपस्थिति रहेको थियो ।