विद्यार्थीलाई मेडल लगाएर सम्मान गर्नुहुँदै प्रिन्सीपल नवीन केसी ।

हेटौंडाः हेटौंडा–९, लामसुरेस्थित कृष्ण आदर्श इंग्लिस बोर्डिङ स्कूलले शैक्षिक सत्र २०७९ मा ७५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । नयाँ शैक्षिकसत्रको भर्नासँगै छात्रवृत्ति परीक्षा लिई ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई ९५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रिन्सीपल नवीन केसीले जानकारी दिनुभएको छ ।

केसीका अनुसार छात्रवृत्ति कार्यक्रममा विद्यालयमा अध्ययनरत र नयाँ भर्ना हुन आउने दुवै विद्यार्थीलाई समानरुपमा प्रतिस्पर्धाको अवसर प्रदान गरिनेछ । प्रवेश परीक्षा जेठ ७ गते शनिबार सञ्चालन गरिनेछ । प्रवेश परीक्षामा १०० पूर्णाङ्कको वस्तुगत प्रश्न सोधिनेछ । वस्तुगत प्रश्न सोधिने परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थी छात्रवृत्तिका लागि योग्य हुने र ५ कक्षादेखि ९ कक्षासम्मका ७५ जना विद्यार्थीलाई कुल शैक्षिक शूल्क मध्ये ५ प्रतिशत रकम मात्रै लिएर ९५ प्रतिशत शैक्षिक शूल्क छात्रवृत्तिस्वरुप छुट गरिने विद्यालयले जनाएको छ ।

यसैबीच विद्यालयले शनिबार शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षाको नतीजा सार्वजनिक गरेको छ । विद्यालयमा अभिभावकको उपस्थितिमा नतीजा सार्वजनिक गरेको हो । नतीजा सार्वजनिकसँगै विद्यालयले कक्षागत उत्कृष्ट ५ जना र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने कक्षाका १० जनाका दरले विद्यार्थीलाई मेडलसहित सम्मान गरेको छ । नतीजा सार्वजनिक गर्ने अवसरमा विद्यार्थी, अभिभावक, स्थानीय समुदाय समेत सहभागी हुन पाउने गरी स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

विद्यालयले शैक्षिक सत्र २०७९ मा हरेक महिना विभिन्न स्वास्थ्यसम्बन्धी शिविरको आयोजना गर्ने पनि प्रिन्सीपल केसीले जानकारी दिनुभएको छ । कृष्ण आदर्शमा ६ सय विद्यार्थीले २०७८ सालको वार्षिक परीक्षा दिएका छन् ।