स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय नजिकिएसँगै दलहरुबीच तिब्र विवाद बढ्दै गएको छ । विशेषगरी सत्ता गठबन्धनभित्रका दलहरु केन्द्रको निर्णयबाट असन्तुष्ट बनेका हुन् । सबै दलका स्थानीय कार्यकर्ताले आफूहरुले कम सिट संख्या पाएको भन्दै गुनासो गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा वलीले प्रतिगमन गरेको र लोकतान्त्रिक मूल्य मान्यताविपरित जान थालेको भन्दै बनेको गठबन्धन स्थानीय तह निर्वाचनसम्म आइपुग्दा निकै कठिन घडीमा पुगेको छ । नेताहरुले स्वार्थहरु पूरा नहुने भएपछि कार्यकर्ताहरुलाई बिरोधमा उतार्ने र आफूहरु वार्तामा बस्ने गरेका छन् । यस्तो दोहोरो चरित्रले गठबन्धनको उद्देश्य पूरा हुन सक्दैन । व्यवस्था र प्रणालीलाई जोगाउन गठबन्धन गरेको हो भने मोलमोलाई भन्दा त्याग गर्न तयार हुनु पर्दछ ।
राजनीति सत्ताका लागि नै हो, तर जनताको विश्वास, राजनीतिक निष्ठा, सिद्धान्त र मूल्य मान्यताका आधारमा हुनु पर्दछ । सत्तामा जानकै लागि सैद्धान्तिक मूल्य नै छोड्ने पद्दति नेपालमा विकास हुँदै गएको छ । निर्वाचनहरुमा हुने गठबन्धन यही मूल्यहीन देखिएको छ । कुनै दल र नेतालाई देखाउनकै लागि मतदाताको भावनाविपरित गठबन्धन गर्नु राजनीतिक नैतिकता हुनै सक्दैन । अनैतिक धरातलमा दलहरु यतिबेला गठबन्धन गरेर निर्वाचनमा मत माग्न जनतासम्म पुग्दैछन् । कांग्रेस र एमालेको नेतृत्वमा संगठित भएका दलहरुबीच एक आपसमा सत्ताबाहेक अन्य कुनै स्वार्थ देखिँदैन । राजनीति पृष्ठभूमि, सैद्धान्तिक र वैचारिक धरातलसमेत निकै फरक भएका दलहरु एकठाउँमा उभिएका छन् ।

दलहरुमा नैतिक धरातलसमेत कमजोर देखिएको छ । गठबन्धन हुनुपर्ने तर सबै पद आफैंलाई चाहिन्छ भन्नु कुन नैतिक आधार हो ? गठबन्धन भन्नासाथ एकआपसमा लेनदेन नै हो । तर आफू भए ठिक, नभए बेठिक भन्ने मान्यता गठबन्धनको चरित्र हुनै सक्दैन । सबैभन्दा उत्तम विधि सबै दलहरु एक्लाएक्लै निर्वाचनमा जाने आँट गर्नु पर्दछ । एक्लै चुनावमा गएमात्र जनाधार थाहा हुन्छ । संगठन एकातर्फ गर्ने, झण्डा फरक बोक्ने, प्रशिक्षण अर्कै लिने, निर्वाचन चिह्न फरक भन्ने तर मतदान अर्को चिन्हमा गर्नुपर्ने अवस्था छ । कार्यकर्ता र मतदाता पार्टीको आदेशपालकमात्र हुन भन्नेजस्तो व्यवहार नेतृत्वबाट भएको छ । मतदाताले स्वतन्त्रपूर्वक आफूले मन पराएको सिद्धान्त बोकेको उम्मेद्वारलाई भोट दिने आँट गर्नु पर्दछ ।

निर्वाचनमा हुने गठबन्धनले दलीय व्यवस्थालाई सबल बनाउन सक्दैन । लोकतान्त्रिक मूल्य मान्यताको संस्थागत विकासका लागि दलहरुबीच स्वच्छ प्रतिस्पर्धा आवश्यक हुन्छ । गठबन्धनका नाममा लादिएको निर्वाचन प्रक्रियाले नागरिकको चाहनाअनुसारको नेतृत्व स्थापित हुन सक्दैन । लोकतान्त्रिक गणतन्त्रको जगलाई निर्वाचनको माध्यमबाट दह्रो बनाउने हो भने कार्यकर्ताहरुले विवेक प्रयोग गर्ने आँट गर्नु पर्दछ । स्थानीय निर्वाचनका लागि भएका दुबै गठबन्धन स्वार्थ प्रेरित छन् । मतदाताहरु नेतृत्वको स्वार्थकै लागि उपयोग हुने वा विवेक प्रयोग गर्ने भन्ने महत्वपूर्ण प्रश्न उठ्छ । यतिबेला हेटौंडामा केन्द्रीय गठबन्धनले गरेको निर्णयमा असहमति जनाउनेहरुले अडानमा कायम रहने आँट गर्नु पर्दछ । तर सबैको स्वार्थ सत्ता भएकाले जुनसुकै बेला अहिलेको विवेक बन्धक बन्नेछ ।