हेटौंडाः नगरस्तरीय शैक्षिक समन्वय समितिको सहजीकरणमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका १७ विद्यालय र मकवानपुरगढी गाउँपालिकाका ४ वटा विद्यालयमा एकसाथ विद्यालय शिक्षा परीक्षा (एसईई) को अभ्यास परीक्षा सुरु भएको छ । मंगलबारदेखि सुरु भएको परीक्षा चैत ३० गतेसम्म चल्नेछ । परीक्षा दिउँसो १ बजेबाट सुरु हुनेछ ।
कोभिड–१९ महामारीका कारण २ बर्षदेखि प्रभावित एसईई यस बर्ष भने साविकजस्तै निर्धारित परीक्षा केन्द्रमा परीक्षा सञ्चालनको तयारी भइरहेको छ । परीक्षाको तयारीस्वरुप नै अभ्यास परीक्षा सञ्चालन गरिएको नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाका संयोजक सागरप्रसाद खतिवडाले जानकारी दिनुभयो । यस बर्ष एसईई अभ्यास परीक्षा हेटौंडा नगरका १७ विद्यालय र मकवानपुरगढी गाउँपालिकाका ४ विद्यालयमा एकसाथ भइरहेको छ ।
नगरस्तरीय शैक्षिक समन्वय समितिको सहजीकरणमा भइरहेको अभ्यास परीक्षामा १ हजार ४ सय ७० विद्यार्थी सहभागी छन् । हेटौंडा उपमहानगरका ३१ वटा सामुदायिक मावि मध्ये १७ वटा तथा मकवानपुरगढी गाउँपालिकाका १० वटा मावि मध्ये ४ वटा माविमा नगरस्तरीय शैक्षिक समन्वय समितिको सहजीकरणमा परीक्षा भइरहेको हो । केही विद्यालयले आफैं अभ्यास परीक्षा सञ्चालन गर्ने जनाएको र केहीले पठनपाठन पूरा हुन नसकेकोले परीक्षा आफ्नै अनुकुलमा सञ्चालन गर्ने तयारी गरेको बताइएको छ ।
यस बर्षको एसईईमा मकवानपुर जिल्लाबाट ७ हजार १ सय २४ विद्यार्थीले फारम भरेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । नियमिततर्फ ७ हजार १ सय १० जना छन् भने ग्रेड वृद्धिका लागि १४ जनाले फारम भरेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार साधारणतर्फ ६ हजार ८ सय ७९ जना विद्यार्थीले फारम भरेका छन् भने प्राविधिकतर्फ २ सय ४५ जनाले फारम भरेका छन् । एसईईका लागि मकवानपुर जिल्लामा २४ वटा परीक्षा केन्द्र तोकिएको छ भने १ सय ३६ वटा विद्यालयका विद्यार्थी सहभागी हुँदैछन् ।