हेटौंडाः नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–५ का ईन्द्रबहादुर तामाङ स्थानीय वात्सलादेवी माविका स्थायी शिक्षक हुनुहुन्छ । २०७६ सालमा प्राथमिक तहको स्थायी शिक्षक नियुक्त हुनुभएका तामाङ विद्यार्थीलाई पढाइरहँदा सवलाङ्ग शिक्षकले जस्तो पूर्णरुपमा विद्यार्थीलाई बुझाएर पढाउन सकिनँ कि भन्ने चिन्ता लाग्ने गरेको बताउनुहुन्छ । अर्कोतर्फ अपाङ्गता भएका व्यक्तिले शिक्षक भएर हामीलाई पढाउन सक्छन् भने हामी पनि केही गर्न सक्छौं भनेर विद्यार्थी प्रेरित भएको तामाङ बताउनुहुन्छ ।
शिक्षक सेवा आयोगले बिहीबार लिएको निमावि तहको शिक्षकको परीक्षामा सहभागी हुने क्रममा हेटौंडा–४ स्थित भुटनदेवी माविमा भेटिनु भएका शिक्षक तामाङले विद्यार्थीलाई प्रभावकारी रुपमा पढाउन, बुझाउन सकिन्न कि भन्ने लागेर नै मावि तहको शिक्षकको परीक्षा नदिएको बताउनुहुन्छ । नेपाली भाषा, साहित्यमा स्नातक उत्तीर्ण गर्नुभएका तामाङले निमावि तहमा भने सामाजिक विषयको शिक्षक हुन परीक्षा दिनुभएको हो । ‘मावि तहका विद्यार्थीलाई भाषाको विषयमा पढाउन कठिन हुन सक्ने तथा विद्यार्थीलाई राम्ररी बुझाउन नसके अन्याय हुने सम्झेर परीक्षा दिइनँ’, तामाङले भन्नुभयो, ‘निमावि तहमा सामाजिक विषय पढाउन सकिन्छ भन्ने लागेर परीक्षा दिएको छु ।’
भुटनदेवी माविमै कक्षा ९ मा अध्ययनरत आशिष कुमारको सहयोगमा आयोगको प्रारम्भिक परीक्षा दिनुभएका तामाङ परीक्षा राम्रो भएको प्रतिक्रिया दिनुभयो । प्रारम्भिक परीक्षामा पास हुँदै विषयगत परीक्षामा पनि सफल हुने तामाङको विश्वास छ । परीक्षाको तयारीका लागि आयोगको पाठ्यक्रमअनुसारको सामग्री बहिनीलाई मोवाइलमा रेकर्ड गर्न लगाएर सुनेर तयारी गरेको तामाङले जानकारी दिनुभयो । जन्मजात नै एउटा आँखामा जलविन्दु र एउटा आँखामा मोतिविन्दुको समस्या व्यहोर्नु परेका तामाङ प्राथमिक तहको शिक्षकको रुपमा आफूले विद्यार्थीलाई राम्रोसँग पढाउन सकेको विश्वास गर्नुहुन्छ ।
यस्तै बिहीबार भुटनदेवी मावि परीक्षा केन्द्रमा चितवनका गणेश महतोले पनि निमावि तहको सामाजिक विषयको प्रारम्भिक चरणको परीक्षा दिनुभएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२६, ज्योतिजुनेलीस्थित युवा माविमा प्राथमिक तहको स्थायी शिक्षकको रुपमा कार्यरत महतोले सुवास अधिकारीको सहयोगमा परीक्षा दिनुभयो । १० बर्षको उमेरमा दृष्टि गुमाउनु भएका महतोले जनसंख्या शिक्षा विषयमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ । महतोले मावि तहमा जनसंख्या विषय र निमावि तहमा सामाजिक विषयको परीक्षा दिनुभएको छ । कम्प्युटर, मोवाइलबाट अडियो एप्लिेकसनबाट आयोगको परीक्षाको तयारी गरेको जानकारी गराउनुहुँदै महतोले परीक्षा राम्रो भएको प्रतिक्रिया दिनुभएको छ ।
बिहीबार निमावि तहको शिक्षक परीक्षामा सहभागी हुन आवेदन दिने ५ हजार ८ सय ८० परीक्षार्थीका लागि बागमती प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयले २४ वटा केन्द्र विद्यालय र क्याम्पस गरी १० वटामा २४ वटा केन्द्र निर्धारण गरेको थियो । परीक्षा सौहाद्र्ध वातावरणमा सम्पन्न भएको शिक्षा विकास निर्देशनालयको शिक्षक सेवा शाखाका अधिकृत टीकाप्रसाद गौतमले जानकारी दिनुभएको छ । पहिलो चरणमा एक सय पूर्णाङ्कको वस्तुगत प्रश्नमा ५० प्रतिशत प्राप्ताङ्क पाउने परीक्षार्थीले आयोगले लिने दोस्रो चरणको विषयगत परीक्षामा सहभागी हुन पाउनेछन् ।
निमावि तहमा देशभर २ हजार ५ सय ९८ जना स्थायी शिक्षक नियुक्तिका लागि परीक्षा लिँदैछ । निमावि तहको शिक्षकको परीक्षा बिहान ११ बजेबाट सुरु भएको थियो । पर्सी शनिबार प्रावि तहको र सोमबार आन्तरिक बढुवातर्फको परीक्षा हुने शिक्षक सेवा आयोगले जनाएको छ । यसअघि मंगलबार आयोगले मावि तहको शिक्षक नियुक्तिका लागि प्रारम्भिक चरणको परीक्षा लिएको थियो । मावि तहको परीक्षामा मकवानपुर जिल्लामा ५ सय १६ जना परीक्षार्थी अनुपस्थित भएका थिए ।
आयोगले मावि, निमावि र प्रावि गरी तीनै तहमा कुल १७ हजार २ सय बढी स्थायी शिक्षक नियुक्त गर्न लागेको हो । शिक्षक सेवा आयोगले मावि तहमा १ हजार ५ सय ४७, निमावि तहमा २ हजार ५ सय ९८ र प्रावि तहमा १३ हजार ९३ जना शिक्षक नियुक्तिका लागि विज्ञापन खुलाएको थियो । नतिजा प्रकाशन गरी नियुक्ति प्रक्रिया पूरा गर्न करिब एक बर्ष लाग्ने अनुमान गरिएको छ ।