हेटौंडाः निर्वाचन आयोगको आइतबार बसेको बैठकले स्थानीय तहको निर्वाचनको अन्तिम मतदाता नामावलीको टुङ्गो लगाएको छ । स्थानीय तहको निर्वाचनमा देशभरी १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता हुने भएका छन् ।
आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता छन् । यस्तै, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १ सय ८३ जना मतदाता छन् । सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् । सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ । २०७४ सालको स्थानीय तहको चुनावमा १ करोड ४० लाख ७२ हजार ४ सय २४ मतदाता थिए । तीमध्ये ७० लाख ७९ हजार १ सय ५३ पुरुष थिए भने ६९ लाख ९३ हजार १ सय ४४ जना महिला मतदाता थिए । जस अनुसार अघिल्लो स्थानीय तहको चुनावको तुलनामा यसपटकको चुनावमा ३६ लाख ६१ हजार २ सय ९९ नयाँ मतदाता थपिएका हुन् ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मंसिर १७ गतेदेखि एक महिना मतदाता नामावली संकलन अभियान चलाएको थियो । यस्तै, आयोगले माघ २५ गतेदेखि मतदाता नामावली संकलन रोकेर विवरण अध्यावधिकको काम सुरु गरेको थियो । मतदाता नामावलीमा नाम समावेश भएर निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुगेका युवाहरूले यसपटकको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।
निर्वाचन आयोग नेपालले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी गरिरहेको छ । स्थानीय तह निर्वाचन ४७ दिन बाँकी रहँदा आयोगले निर्वाचनको लागि आवश्यक तयारीलाई तीब्र पारेको हो ।
आयोगले स्थानीय तह निर्वाचन, २०७९ को पर्यवेक्षणका लागि निवेदन आव्हान गरेको छ । पर्यावेक्षण गर्न चाहने राष्ट्रिय संस्थाले १५ दिन भित्र आवश्यक कागजात सहित निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ को अुनसूची २ बमोजिम निवेदन दिन आईतबार सूचना सार्वजनिक गरेको छ । आयोगले संस्था दर्ताको प्रमाणपत्र प्रतिलिपि, विधानको प्रतिलिपि, नवीकरण भएको निस्साको प्रतिलिपि, कार्यसमिति पदाधिकारीको नामावली, निर्वाचन पर्यवेक्षण भए त्यसको प्रमाण लगायतको कागजपत्रसहित निवेदन दिन अनुरोध गरेको छ ।
त्यसैगरी, आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरुले आयोग र निर्वाचन कार्यालयमा प्राप्त विवरण रुजु तथा भिडान गर्ने कार्य गरिरहेको बिहीबार प्रेस विज्ञप्ती जारी गरी जानकारी दिएको छ ।
निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरुसँगको अन्तरक्रियात्मक कार्यक्रम देशभर प्रारम्भ गरेको विज्ञप्तीमा उल्लेख छ । यस्तै, मतदाता नामावली, मतदाता परिचय पत्र, निर्वाचनसँग सम्बिन्धित निर्देशिका लगायतका सामाग्री छपाईका लागि विभिन्न ६ वटा प्याकेजको बोलपत्र स्वीकृत गरी आपूर्तिकर्तासँग सम्झौता गर्न पत्राचार गरिएको बताईएको छ ।
निर्वाचनमा प्रचारप्रसार तथा मतदाता शिक्षा कार्याक्रम अन्तर्गत आवश्यक हुने मतदाता शिक्षा सामाग्री तयारीका लागि दर्ता भएका फर्महरु अध्ययनको क्रममा रहेको जनाएको छ ।