मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री घोषणा गरिएको छ । देशभरका स्थानीय तहहरु बालमैत्री घोषणाको प्रतिस्पर्धा गरिरहेको अवस्थामा मकवानपुरगढीले बालमैत्री घोषणा गरेर आफूलाई प्रतिस्पर्धामा अगाडि उभ्याएको छ । बालमैत्री घोषणाका लागि तोकिएका सूचक तथा मापदण्ड पूरा भएको भन्दै बालमैत्री घोषणा गरिएको हो । मकवानपुरगढी बालमैत्री घोषणा हुने स्थानीय तहमध्ये देशकै चौथो बनेको छ । संघीय शासन पद्दतिबमोजिम राज्य पुनर्संरचना गरिएपछि बनेका ७ सय ५३ वटा स्थानीय तहमध्ये बालमैत्री घोषणा गर्ने मकवानपुरकै मनहरी गाउँपालिका पहिलो बनेको थियो । मनहरीले आफ्नो पालिकालाई बालमैत्री घोषणा गरेका २ वर्षभन्दा बढी भइसकेको छ । मकवानपुरकै बकैया गाउँपालिका पनि बालमैत्री घोषित भइसकेको छ ।
मकवानपुरगढी गाउँपालिकालाई शनिबार विविध कार्यक्रमको आयोजना गरी बालमैत्री गाउँपालिका घोषणा गरिएको हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको विशेष कार्यक्रममा मकवानपुरगढीलाई बालमैत्री गाउँपालिका घोषणा गरिएको हो । बालमैत्री घोषणाका लागि अभियानमा सबै पक्षको सहकार्य र साथबाट सुशासनसहितको गढी गाउँपालिका निर्माणमा सहज भएको बताइएको छ । गाउँपालिकाको सामाजिक, सांस्कृतिक विकासका लागि बालबालिकामा गरिएको लागानी मात्रै दिगो समृद्धिको बाटोतर्फ अगाडि बढ्न सक्ने भएकाले गाउँपालिकाले बालमैत्री क्रियाकलापमा जोड दिँदै बालमैत्री घोषणा गरेको जनाएको छ ।
करिब २ वर्ष अघिदेखि बालमैत्री घोषणाको तयारी गरेको मकवानपुरगढी गाउँपालिका बालमैत्री बन्न सफल भएको छ । गाउँपालिकाले २०७७ माघ २० गते बालमैत्री स्थानीय शासन नीति अवलम्बन गर्ने सामूहिक प्रतिबद्धता गरेको थियो । सोहीबमोजि प्रतिबद्धता तथा निर्धारित सूचकहरु अधिकांश पूरा भएको भन्दै गाउँपालिकालाई बालमैत्री घोषणा गरिएको छ । बालमैत्री घोषणा गर्न पूरा गर्नुपर्ने तोकिएका सबै सूचक पूरा गर्न प्रत्येक स्थानीय तहका लागि ठूलो चुनौती बन्ने गरेको छ । बालमैत्री स्थानीय तह घोषणा पूर्ण स्तनपान गराएको, सबै बालबालिकाको जन्मदर्ता भएको, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, नियमित आइरन चक्की खाएको, कक्षा एकमा शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको हुनुपर्ने लगायतका सूचकहरु पूरा गर्न निकै चुनौती बन्ने निश्चित छ ।
बालमैत्री घोषणा हुनु ठूलो कुरा भएन, त्यसलाई प्रभावकारी कार्यान्वयन गरेर सार्थक पार्नु सम्बद्ध स्थानीय तहको कर्तव्य हो । यसअघि बालमैत्री घोषणा भएका मनहरी, बकैयालगायत पालिकाहरुमा अझै पनि बालमैत्रीका लागि तोकिएका सूचकको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । बालमैत्री घोषणाका लागि तोकिएका कतिपय सूचकहरु पूरा हुनका कागजी घोषणाले मात्र हुँदैन, व्यवहार परिवर्तन हुनु आवश्यक छ । मानिसलाई सचेत बनाएर व्यवहार परिवर्तन गर्न नसकेसम्म कागजी घोषणाले सार्थकता पाउन सक्दैन । विगतमा गरिएका खुला दिशामुक्त, पूर्ण साक्षर, बालश्रममुक्त, सडक मानवमुक्त, बालविवाहमुक्त, पूर्ण खोपयुक्तजस्ता थुप्रै घोषणाको प्रभावकारिता र सार्थकता हुन नसकेको अवस्थाबाट पाठ सिकेर बालमैत्री घोषणालाई सार्थक बनाउन सम्बद्ध पक्ष गम्भीर बन्नु आवश्यक छ ।