हेटौंडाः हेटौंडा मेयर कप रेपिड बुद्धिचाल प्रतियोगिता–२०७८ को उपाधी हेटौंडाका क्षितिज भण्डारीले हात पारेका छन् । नेपाल खेलकुद महासंघ र बागमती प्रदेश बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा काठमाडौंका मनिष हमाललाई हराउँदै भण्डारीले प्रतियोगिताको उपाधि हात पारेको हो ।

प्रथम भएका भण्डारीले ६ अंक प्राप्त गरी नगद ५० हजार रुपैयाँ हात पारे । यस्तै, हेटौंडाका कृृष्ण थापा ५.५ अंकका साथ द्वितीय भए । उनले नगद २५ हजार रुपैयाँ हात पारे । यस्तै, झापाका प्रकाश चन्द्र नेपालले पनि ५.५ अंकका साथ तृतीय भए । चन्द्रले नगद १५ हजार रुपैयाँ हात पार्न सफल भए ।

यस्तै, चौँथो भएका सुमन श्रेष्ठ र पाँचौ भएका मनिष हमालले समान ५–५ अंक प्राप्त गरे । दुबै जनाले नगद १०–१० हजार रुपैयाँ हात पारे । यस्तै रुपेश जैसवालले ५, राजन सुवेदीले ५, श्रीकृष्ण श्रेष्ठले ५, सुस्रुत दाहालले ४.५ र आषिश फुयाँलले ४.५ अंक प्राप्त गरे । सबैले समान ७–७ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा देशभरबाट ५४ जना खेलाडी सहभागी भएका थिए ।

नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानको अध्यक्षता तथा बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एकलाल श्रेष्ठ, केन्द्रीय महासचिव धरम लामा लगायतको आतिथ्य रहेको थियो ।